नगरप्रमुख पौडेलको कार्यशैलीमाथि चौतर्फी विरोध, आर्थिक अनियमितताको आरोप

इटहरी, असार २५ – इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीमाथि चौतर्फी विरोध भएको छ। आर्थिक पारदर्शिता नभएको, जनउत्तरदायित्वप्रति बेवास्ता देखिएको र भ्रष्टाचारका गम्भीर आरोप लागेपछि उहाँको आलोचना चुलिएको छ।

स्थानीय नागरिक समाज, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रमुख पौडेलको निर्णयशैलीप्रति असन्तुष्टि जनाएका छन्। आर्थिक अनियमितता र भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी शाखामा उहाँले बयानसमेत दिनु परेको इटहरी उपमहानगरपालिकाका अधिकारीहरुले बताएका छन्।

प्रमुख पौडेलले सामाजिक सञ्जालमार्फत स्थानीय सञ्चारकर्मी र पत्रकारितामाथि आपत्तिजनक अभिव्यक्ति दिएका आरोप लागेपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै तीव्र आपत्ति जनाएको छ। महासंघले पत्रकारितालाई बदनाम बनाउने उद्देश्यले गरिएको उक्त अभिव्यक्तिको खेद व्यक्त गर्दै प्रेस स्वतन्त्रतामाथि प्रहार भएको टिप्पणी गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रमुख पौडेलको शैली पदीय मर्यादाविपरीत भएको उल्लेख गर्दै पत्रकारमाथि निरुत्साहजनक कार्य नगर्न चेतावनी दिएको छ।

यता, पौडेल नेतृत्व गर्ने दल नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि बढ्दो छ। कांग्रेसका स्थानीय अग्रज नेता तथा कार्यकर्ताले अनौपचारिक बैठक गर्दै उहाँको अपारदर्शी र गैरजवाफदेही कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरुले इटहरी उपमहानगरलाई आर्थिक सङ्कटमा पार्ने गरी गरिएका निर्णयबारे छानबिन हुनुपर्ने माग राखेका छन्।

प्रमुख पौडेलविरुद्ध अख्तियारमा परेको उजुरीअनुसार, सार्वजनिक यातायातका लागि खरिद गरिएको बसमा करिब डेढ करोड रुपैयाँ बराबरको अनियमितता भएको बताइएको छ। यस्तै, अनावश्यक कर्मचारी भर्ना, कार्यालय सञ्चालनमा बेथिति र बजेट खर्चमा समेत अपारदर्शिता रहेको जनाइएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख पौडेलले बोल्न अस्वीकार गर्नुभएको बताइएको छ। उहाँका प्रेस संयोजक धनबहादुर पुरीले पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना बढेको स्वीकार गर्दै नगरप्रमुखसँग नियमित सम्पर्क नभएको जानकारी दिनुभएको छ।

इटहरी उपमहानगरका प्रवक्ता दिवस पोखरेलले प्रमुख पौडेलको कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र उपमहानगरपालिकाको कार्यपालिका समिति भित्रै पनि कडा विरोध रहेको बताउनुभयो। उहाँले नगर प्रमुखसँग संवाद गरेर समन्वय गर्ने प्रयास भइरहेको पनि बताउनुभयो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP