काठमाडौं, जेठ २९-नेता, कर्मचारी र ठेकेदारपछि अब पत्रकारहरू पनि व्यापक रूपमा भ्रष्टाचारको फन्दामा पर्दै गएका छन्। पछिल्लो तीन महिनामा मात्र १० जना पत्रकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तीमध्ये एक सातामा मात्रै ७ जना पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
१. राम्जी वगाले – सम्पादक, जनसवाल राष्ट्रिय दैनिक
रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकका लागि स्प्रे टंकी वितरणसम्बन्धी टेण्डर सूचना छाप्ने नाममा झुट्टा बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियारले जनसवाल राष्ट्रिय दैनिकका सम्पादक राम्जी वगालेविरुद्ध मुद्दा दायर गरेको हो।
उनसँगै तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल, प्रतिनिधि ओमप्रकाश यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र सह-लेखापालसमेत समावेश छन्। उनीहरूबाट २ लाख १२ हजार २२५ रूपैयाँ सरकारी रकम ठगी गरिएको आरोप छ।
२. वृजकुमार यादव – प्रधान सम्पादक, जनकपुर टुडे दैनिक
धनुषाको बटेश्वर गाउँपालिकाको बोलपत्र सूचना एक प्रति मात्र छापेर सेटिङमा झुट्टा बिल बनाइ ६ लाख ४४ हजार १०० रूपैयाँ भुक्तानी लिएको अभियोगमा अख्तियारले जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
३. नवराज निरौला – निर्देशक, नेपाल मिडिया हाउस प्रा.लि.
बाराको फेटा गाउँपालिकासँग मिलेमतोमा ठेक्काको सूचना सौर्य दैनिकमा प्रकाशन नगरी/नगराई बिल बनाइ १ लाख ४२ हजार १६० रूपैयाँ भुक्तानी लिएको अभियोगमा नेपाल मिडिया हाउस प्रा.लि.का निर्देशक नवराज निरौलाविरुद्ध मुद्दा परेको हो।
४. भूषणकुमार सिंह – संस्थापक, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.
५. रवि अर्याल – निर्देशक, डच मिडिया प्रा.लि.
६. कृष्णबहादुर कार्की – प्रबन्ध निर्देशक, प्रभाव राष्ट्रिय दैनिक
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको चार वटा ठेक्काको सूचना सौर्य दैनिकमा छापिएको भनी एक-एक प्रति मात्र मुद्रण गरी मिलेमतोमा ठगी गरिएको अभियोगमा उनीहरूविरुद्ध ३ लाख १६ हजार ४१० रूपैयाँ बिगो माग दाबी सहित मुद्दा दर्ता भएको छ।
७. कमलकुमार उपाध्याय – अध्यक्ष, केएस मल्टीपरपोज प्रा.लि. र रजिष्ट्रार, मधेश प्रदेश मिडिया काउन्सिल (निलम्बित)
बाराको पचरौता नगरपालिकासँगको मिलेमतोमा टेण्डर सूचना प्रकाशन नगरी दैनिक पत्रिकामा एक प्रति मात्रै प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेका अभियोगमा मिडिया काउन्सिलका तत्कालीन रजिष्ट्रार कमलकुमार उपाध्यायमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उनी हाल निलम्बित अवस्थामा छन्।
पत्रकारिताको नाममा चल्दै आएको विज्ञापन सेटिङको घिनलाग्दो कारोबारको पर्दाफास
भ्रष्टाचार मुद्दामा मुछिएका अधिकांश पत्रिका र मिडियाले सरकारी निकायसँग मिलेमतो गरी टेण्डर सूचना झुट्टा रूपमा छापिएको देखाउने, रेकर्डका लागि मात्र एक प्रति मुद्रण गर्ने र त्यसवापत लाखौँ रुपैयाँको झुट्टा बिल पेश गर्ने गरेको अख्तियारले जनाएको छ।
प्रेस काउन्सिल नेपालमा समेत सूचना प्रकाशन नभएको पुष्टि भएपछि अख्तियारले ती पत्रकार र मिडिया सञ्चालकहरूविरुद्ध ठोस प्रमाणसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यस घटनाले पत्रकारिता क्षेत्रको नैतिकताको प्रश्न उठाउनुका साथै, सुशासन र पारदर्शितामाथि गम्भीर चुनौती खडा गरेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया