मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंह भ्रष्टाचार आरोपमा पक्राउ

मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंह भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौं, जेठ २९ — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको विशेष टोलीले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचारसम्बन्धी गम्भीर आरोपमा पक्राउ गरेको छ। आयोगमा प्राप्त उजुरीको आधारमा सिंहलाई काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य स्कूल नजिकबाट साँझ ६:०३ बजे नियन्त्रणमा लिइएको हो।

सिंहमाथि उपभोक्ता समितिहरू गठन गराई ती समितिका खातामा आएको सरकारी रकम आफ्ना नजिकका सहयोगीहरू मार्फत झिकाई, निजको निजी सचिव विनोद कुमार लाल कायस्थ तथा आफ्नै र श्रीमतीको खातामा बैंकमार्फत रकम जम्मा गराई दुरुपयोग गरेको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, सरकारी रकम हिनामिना गरी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको ठहर गर्दै उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

पक्राउ परेका सिंह महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–६ सरपल्लो स्थायी बासिन्दा हुन्। हाल उनी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–९ मा बसोबास गर्दै आएका छन्। उनी मधेस प्रदेशको महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल सिंह तथा उनको निजी सचिव विनोद कुमार लाल कायस्थसहितको संलग्नतामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अनुसन्धानपश्चात् आवश्यक कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP