काठमाडौं, जेठ २९ – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा भएको २ करोड ४९ लाख ४० हजार रुपैयाँको भ्रष्टाचार प्रकरणमा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा सौर्य बत्ती जडानका लागि विनियोजित बजेट अस्वाभाविक रूपमा बढाइएको, सामान आपूर्ति नगरी भुक्तानी दिइएको, र ठेक्का प्रक्रिया उल्लंघन गरिएको पुष्टि भएको छ।
अनुमानित लागत २ करोड १६ लाख रुपैयाँ मात्र भए पनि, लागतलाई टुक्र्याएर प्रतिस्पर्धाविनै २ करोड ५३ लाख १८ हजार रुपैयाँ बराबरको कार्यादेश दिइएको र अधिकांश सामग्री नआउँदै रकम भुक्तानी गरिएको आयोगले जनाएको छ।
सौर्य बत्ती खरिद प्रक्रियामा संलग्न देखिएका तीनवटा फर्म — स्काईराइज ट्रेडिङ, एसके स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल एउटै समूहको स्वामित्वमा रहेको र मिलेमतोमा झुटा बिल तथा सिफारिस बनाई योजना सम्पन्न नगरी रकम भुक्तानी गरिएको ठहर भएको हो।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा छन्:
विक्रम यादव – तत्कालीन अध्यक्ष, चक्रघट्टा गाउँपालिका,
लालबाबु प्रसाद साह – निमित्त प्रमुख प्रशासकीय अधिकृत,
शिवशंकर प्रसाद कुशवाहा – लेखा अधिकृत,
सञ्जय कुमार महतो – योजना शाखा प्रमुख,
जयराम महतो – उपभोक्ता समिति अध्यक्ष,
रामवृक्ष मण्डल – उपभोक्ता समिति सचिव, र
समशाद आलम – आपूर्तिकर्ता।
उनीहरू सबैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सरकारी कोष हिनामिना, ठगी र मिलेमतोमा योजना रकम भुक्तानी गराएको आरोप लगाइएको छ। अख्तियारले सम्पूर्ण रकम असुलउपरका लागि मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया