सौर्य बत्ती खरिदमा २ करोड ४९ लाख रुपैयाँ भ्रष्टाचार, चक्रघट्टा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा

सौर्य बत्ती खरिदमा २ करोड ४९ लाख रुपैयाँ भ्रष्टाचार, चक्रघट्टा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौं, जेठ २९ – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा भएको २ करोड ४९ लाख ४० हजार रुपैयाँको भ्रष्टाचार प्रकरणमा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा सौर्य बत्ती जडानका लागि विनियोजित बजेट अस्वाभाविक रूपमा बढाइएको, सामान आपूर्ति नगरी भुक्तानी दिइएको, र ठेक्का प्रक्रिया उल्लंघन गरिएको पुष्टि भएको छ।

अनुमानित लागत २ करोड १६ लाख रुपैयाँ मात्र भए पनि, लागतलाई टुक्र्याएर प्रतिस्पर्धाविनै २ करोड ५३ लाख १८ हजार रुपैयाँ बराबरको कार्यादेश दिइएको र अधिकांश सामग्री नआउँदै रकम भुक्तानी गरिएको आयोगले जनाएको छ।

सौर्य बत्ती खरिद प्रक्रियामा संलग्न देखिएका तीनवटा फर्मस्काईराइज ट्रेडिङ, एसके स्टोर्सजियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल एउटै समूहको स्वामित्वमा रहेको र मिलेमतोमा झुटा बिल तथा सिफारिस बनाई योजना सम्पन्न नगरी रकम भुक्तानी गरिएको ठहर भएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा छन्:
विक्रम यादव – तत्कालीन अध्यक्ष, चक्रघट्टा गाउँपालिका,
लालबाबु प्रसाद साह – निमित्त प्रमुख प्रशासकीय अधिकृत,
शिवशंकर प्रसाद कुशवाहा – लेखा अधिकृत,
सञ्जय कुमार महतो – योजना शाखा प्रमुख,
जयराम महतो – उपभोक्ता समिति अध्यक्ष,
रामवृक्ष मण्डल – उपभोक्ता समिति सचिव, र
समशाद आलम – आपूर्तिकर्ता।

उनीहरू सबैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सरकारी कोष हिनामिना, ठगी र मिलेमतोमा योजना रकम भुक्तानी गराएको आरोप लगाइएको छ। अख्तियारले सम्पूर्ण रकम असुलउपरका लागि मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP