सामुदायिक वनको राजस्व हिनामिना प्रकरणः पूर्व अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

सामुदायिक वनको राजस्व हिनामिना प्रकरणः पूर्व अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

जाजरकोट, भेरी – जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आयोगका अनुसार शाहीले मिति २०७८ चैत २० गते नेपाल बैंक लिमिटेडको जाजरकोट शाखामा रहेको रानीचौर सामुदायिक वन उपभोक्ता समूहको खाताबाट चेकमार्फत रु. ७ लाख रकम झिकाएका थिए। सो मध्ये कानुनअनुसार रु. ६३,९५३ मात्र राजस्व दाखिला र लेखापरीक्षण खर्च गरिएको देखिएको छ भने बाँकी रकमको हकमा १४ वटा नक्कली राजस्व दाखिला भौचर, ७ वटा नक्कली लेखापरीक्षण बिल, १ वटा झुटो परामर्श सेवा बिल र ३ वटा नक्कली होटल बिल पेस गरिएको आयोगको अनुसन्धानमा खुलेको हो।

शाहीले कृषि विकास बैंक लिमिटेडलगायतका संस्थाको नक्कली कागजात तयार गरी सार्वजनिक सम्पत्ति रु. ६,३६,०४७ बदनियतपूर्वक हिनामिना गरेको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरिएको हो। साथै, नक्कली बिल, किर्ते छाप, दस्तखत र गलत लिखत बनाएको प्रमाणका आधारमा ऐनको दफा ९ र दफा ११ बमोजिमको कसूरसमेत पुष्टि भएको जनाइएको छ।

अभियोजनमा शाहीलाई कैद सजाय, हिनामिना रकम असुल उपर तथा बिगो बमोजिम जरिवाना माग गर्दै आरोपपत्र पेश गरिएको हो। विशेष अदालतमा दायर यो मुद्दा सामुदायिक वन व्यवस्थापनमा देखिएको वित्तीय पारदर्शिताको अभावलाई उजागर गर्ने एक महत्वपूर्ण घटनाक्रमको रूपमा हेरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गुहेश्वरि मन्दिरको पूर्वी जङ्गल क्षेत्रमा वृक्षारोपण सम्पन्न
8 महिना अगाडि

काठमाडौं, असार २५ — गुहेश्वरिमन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा बुधबार बिहान गुह्येश्वरी ...

छुटाउनुभयो कि ?

TOP