कोटिहोममा पुनः देवी प्रतिभाको आगमन हुने

कोटिहोममा पुनः देवी प्रतिभाको आगमन हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन्।

प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। यसअघि १४ दिनसम्म कथा वाचन गरेर हजारौं भक्तजनको मन जितेर गएकी उनी, पुनः पोखरा फर्किन लागेकी हुन्।

उनको सुमधुर स्वर र भावनाले भरिपूर्ण शैलीमा कथा वाचन सुन्न छुटेका भक्तजनका लागि यो पुनः एक दुर्लभ अवसर हो। ‘प्यार से बोलो ना’ भन्ने उनको मनमोहक शैलीले कथा स्थल गुञ्जायमान हुन्छ, भक्तजन ‘राधे राधे’ भनेर एक स्वरमा गुन्जन्छन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजको प्रेरणामा देवी प्रतिभाको पुनः आगमन सम्भव भएको हो। महाराजले बताएअनुसार देवी प्रतिभाले पटक–पटक “तपाईंको संकल्पलाई सधैँ साथ दिनेछु” भनेर उनलाई उत्साह दिएकी थिइन्।

काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी प्रतिभा पराजुली (देवी प्रतिभा) अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चित कथावाचिकामा गनिन्छिन्। उनी भागवत पुराण, रामचरित्रमानस लगायतका ग्रन्थहरू रसिलो शैलीमा श्रोतामाझ प्रस्तुत गर्छिन्।

यसैबीच, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध आध्यात्मिक व्यक्तित्व भागवत मञ्जरी राधिकादासीले कथा प्रवचन गर्नेछिन्। मोरङमा जन्मिएकी राधिकादासीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कथा वाचन गर्दै समाजसेवामा समेत उल्लेखनीय योगदान दिएकी छिन्।

उनले भनिन्, “पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम भइरहेको छ। यस्तो अवसर जीवनमा विरलै आउँछ। सबैलाई चुल्है निम्ता छ।”

यसैबीच, छोरेपाटन माविबाट ४ सयभन्दा बढी विद्यार्थीले कोटिहोमको दर्शन गरेका छन्। महायज्ञका निर्देशक शङ्कर खरालका अनुसार विद्यार्थीलाई धर्म, संस्कृति र संस्कारको पाठ पढाउने उद्देश्यले विद्यालयहरूमार्फत दर्शन कार्यक्रम सञ्चालन गरिएको हो।

मानवसेवा फाउन्डेसनद्वारा सञ्चालित कोटिहोम सनातन हिन्दू धर्मको संरक्षण र विभिन्न जातजातिको सांस्कृतिक जर्गेना गर्ने उद्देश्यले भइरहेको हो।

यसैगरी जेठ १० गते दरौँ सिरुवारिबाट स्थानीय जातीय बाजागाजा र थाली नृत्यसहित झाँकी प्रस्थान गर्ने छ। संयोजक डा. तुलसी प्रभास खनालका अनुसार यसले धार्मिक र सांस्कृतिक समावेशीपन झल्काउने छ।

कोटिहोममा विभिन्न कार्यक्रमहरू अन्तर्गत चौरासी पूजन, सवा करोड पार्थिव शिवलिंग निर्माण, भागवत पारायण, दीप प्रज्वलन, तुला दान, रुद्राभिषेक लगायतका कर्महरूमा सहभागी हुने व्यवस्था गरिएको छ। ४ सयभन्दा बढी ब्राह्मणले दैनिक हवनमार्फत आहुति अर्पण गरिरहेका छन्।


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP