कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, १ खर्ब ३९ अर्बको परियोजना सोकेस हुने

विराटनगर,३  वैशाख -कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गर्न लागेको कोशी प्रदेश लगानी सम्मेलन २०८२ को सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधार सम्पन्न भएको बताउनुभयो। "यो सम्मेलनले प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउने मात्र होइन, रोजगारी सिर्जना र राष्ट्रिय पुँजीको विकासमा टेवा पुग्नेछ," मुख्यमन्त्री कार्कीको भनाइ थियो।

मुख्यमन्त्री कार्कीका अनुसार, सम्मेलनमा ५४ वटा परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लागत १ खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ। मुख्य रूपमा पर्यटन, उद्योग र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको छ।

पर्यटन क्षेत्रका १५ भौतिक पूर्वाधार अन्तर्गत १४ योजना, कृषि क्षेत्रका ९ उद्योगमा ९ योजना, आईटी र वेस्ट म्यानेजमेन्टमा २–२ योजना सम्मेलनमा सोकेस गरिने लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाले जानकारी दिनुभयो। होटल, रिसोर्ट, वाटर पार्क जस्ता परियोजना पनि समावेश गरिएको छ।

पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सम्मेलनलाई सफल बनाउन ८ वटा कानुन संशोधन र एउटा नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। उहाँले "सार्वजनिक–निजी साझेदारी अन्तर्गतका परियोजना कार्यान्वयनमा कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता पुर्‍याइनेछ," भन्ने धारणा राख्नुभयो।

सम्मेलन सचिवालयका संयोजक पवन कुमार तिमिल्सेनाले विभिन्न समिति गठन भइसकेको र तयारी पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।

यो सम्मेलन कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको लगानी सम्मेलन हो, जसलाई स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्यमा सफल बनाउने लक्ष्य लिइएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP