अशोक दर्जीसँग सम्बन्धमा दरार, टंक बुढाथोकीले भने– ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

अशोक दर्जीसँग सम्बन्धमा दरार, टंक बुढाथोकीले भने– ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जी र उनलाई सडकबाट ल्याएर संगीत क्षेत्रमा अघि बढाएका संगीतकार टंक बुढाथोकीबीचको सम्बन्धमा गम्भीर दूरी आएको छ।
लामो समयसम्म अभिभावक र बाल कलाकारजस्तो सम्बन्धमा रहेका टंक र अशोकबीच अहिले व्यक्तिगत सम्पर्कसमेत नरहेको टंकले खुलासा गरेका छन्। ‘मन बिनाको धन २’ मा अशोकलाई नराखिएको विषयमा प्रश्न गर्दा उनले फिल्ममा अशोक नरहेको स्पष्ट पारे।
‘झिंगेदाउ २’ को प्रिमियरमा सञ्चारकर्मीसँग कुरा गर्दै टंकले अशोकसँग अहिले ‘हेलो–हाई’ समेत नभएको बताए। उनका अनुसार अशोकसँगको सम्बन्ध ‘पार्वती’ फिल्म बन्ने समयदेखि नै टाढिँदै गएको हो।
सम्बन्धमा आएको दूरीबारे बोल्दै टंकले आफूले वर्षौँदेखि सामाजिक सञ्जालमा ‘अशोकलाई प्रयोग गरेको’ भन्ने आरोप सुन्दै आएको गुनासो गरे। यही प्रसंगमा उनले भावुक तथा आक्रोशित हुँदै भने, “एउटा सडकको बच्चालाई हिरो बनाएर मैले गल्ती गरेँ।”
टंकले आफूले अशोकलाई गीत गाउन, बोल्न र अभिनय गर्न सिकाएको तथा फिल्ममा समेत अवसर दिएको उल्लेख गर्दै आफूले गरेको सहयोगलाई नै ‘प्रयोग’ भनेर व्याख्या गरिँदा आफू दिक्क भएको बताए। सामाजिक सञ्जालका टिप्पणीले आफ्नो परिवारमा समेत असर पर्न थालेको उनको भनाइ छ।
टंकका अनुसार अब आफू अशोकको अभिभावकको भूमिकामा छैनन्। उनले व्यक्तिगत सम्बन्ध पुनः पुरानै अवस्थामा फर्किने सम्भावना नरहेको बताए पनि भविष्यमा व्यावसायिक रूपमा सहकार्य हुन सक्ने सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।
यता, टंकका दाजु टीका बुढाथोकीले भने अशोकको पढाइ र भविष्यलाई लिएर पनि उनीहरूबीच दूरी बढेको बताएका छन्। उनका अनुसार टंकले अशोकले एसईई सकेर नेपाली सेनामा जागिर खाएर जीवन व्यवस्थित बनाओस् भन्ने चाहेका थिए। तर अशोकले संगीत तथा अभिनयमै करिअर अघि बढाउने बाटो रोजेको उनको भनाइ छ।
यससँगै कुनै समय बाबुछोराजस्तै देखिएको टंक–अशोक सम्बन्ध अहिले नयाँ मोडमा पुगेको छ। अशोक आफ्नै करिअरमा अघि बढिरहेका छन् भने टंकले भने विगतको सम्बन्ध र आफूले पाएका सामाजिक सञ्जालका आरोपबारे पहिलोपटक यसरी खुलेर प्रतिक्रिया दिएका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिकाले सहयोग रोके युक्रेनलाई संकट, रुसलाई बढ्न सक्छ दबाब !
1 हप्ता अगाडि

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोग रोकेमा युद्धमा युक्रेनको अवस्था थप कठिन बन्न ...

छुटाउनुभयो कि ?

TOP