चर्चामा
काठमाडौँ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा नेपाली मूलका एक पुरुष र एक महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। सेप्टेम्बर १४ मा भएको घटनामा ४१ वर्षीय भीम मिश्र र ३३ वर्षीया मोनु रिजाल मृत भेटिएका हुन्।
कोलम्बस प्रहरीले घटनालाई प्रारम्भिक अनुसन्धानका आधारमा हत्या–आत्महत्याको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार मिश्रलाई घटनामा संदिग्ध र रिजाललाई पीडितका रूपमा पहिचान गरिएको छ।
घटना सार्वजनिक हुनुको मुख्य कारण भने एउटा बालकले गरेको आपत्कालीन फोन बनेको छ। प्रहरीका अनुसार सेप्टेम्बर १४ मा दिउँसो ४ः४८ बजे एक बालकले ९११ मा फोन गर्दै घरभित्र आमाको मृत्यु भएको जानकारी दिएका थिए। त्यसपछि एक आफन्तले फोन सम्हाल्दै घरभित्र एक महिला बेडरुममा रगताम्य अवस्थामा तथा एक पुरुष ग्यारेजमा रहेको जानकारी प्रहरीलाई दिएका थिए।
प्रहरीले घटनास्थलमा पुग्दा घरको बेडरुम र ग्यारेजमा दुई जना अचेत अवस्थामा फेला पारेको थियो। घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले साँझ ५ः०२ बजे दुवैलाई मृत घोषणा गरेका थिए।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घटनामा गोली चलेको प्रमाण भने भेटिएको छैन। घटनाको कारण र मृत्युको यकिन तरिकाबारे अनुसन्धान जारी रहेको छ। ९११ फोनमा आफन्तले महिलामाथि हथौडाजस्तो वस्तुले आक्रमण भएको हुनसक्ने बताएका थिए, तर प्रहरीले त्यसलाई अहिलेसम्म मृत्युको आधिकारिक कारणका रूपमा पुष्टि गरेको छैन।
घटनाका क्रममा घरमा रहेका बालबालिका सुरक्षित रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई वयस्कबाट अलग गरिएको थियो र पछि परिवार तथा बालकल्याण सेवाको समन्वयमा उनीहरूको हेरचाहको व्यवस्था गरिएको थियो। घटनास्थलमा रहेका बालबालिकाले वास्तवमा के देखे भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
प्रहरीका अनुसार घटनास्थलमा यसअघि घरेलु विवादसम्बन्धी आपत्कालीन फोन आएको रेकर्ड पनि थिएन। घटनाको उद्देश्य तथा त्यस दिन घरभित्र वास्तवमा के भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको छ।
घटनाले स्थानीय नेपाली समुदायमा समेत चिन्ता र शोकको अवस्था सिर्जना गरेको छ। प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य संकलन गरिरहेको जनाएको छ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!