चर्चामा
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहमति जनाएका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो।
उनका अनुसार जिम्मेवारी खोसिए पनि सम्बन्धित सभापतिको पद भने कायमै रहनेछ। काम गर्न नसकेका कारण अधिवेशन तथा सांगठनिक गतिविधि अघि बढाउन सहजताका लागि कार्यवाहक सभापति तोकिएको दुलालले बताएका छन्।
निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई दिइएको छ। त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई दिइएको छ। डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई तथा बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ। यसअघि संस्थापन इतर समूहमा रहेका जिल्ला सभापतिहरूले पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा असहमति जनाउँदै आएका थिए।
यसैबीच, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले भने महाधिवेशनका कार्यक्रम तत्काल स्थगित गर्न माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतको फैसला नआएसम्म महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन्।
पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै बोगटीले यस्तो अवस्थामा एकपक्षीय रूपमा सांगठनिक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर गरेका छन्।
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!