सत्य निकेतनमा चारतले भवन भत्किँदा ६० विद्यार्थी फसेको आशङ्का, तीन जनाको जीवितै उद्धार

सत्य निकेतनमा चारतले भवन भत्किँदा ६० विद्यार्थी फसेको आशङ्का, तीन जनाको जीवितै उद्धार

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। लगातार तीन दिनदेखि भइरहेको वर्षाबीच आइतबार दिउँसो करिब १ः३० बजे भवन भत्किएको हो।

घटनालगत्तै दमकल, दिल्ली प्रहरी, दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए), नगर निगम, नागरिक सुरक्षा स्वयंसेवक तथा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का टोली उद्धारमा परिचालन भएका छन्।

प्रारम्भिक विवरणअनुसार उक्त भवनमा विद्यार्थीका लागि होस्टल वा पीजी सञ्चालन हुँदै आएको थियो। भवन भत्किँदा धेरै विद्यार्थी आफ्नै कोठाभित्र रहेको बताइएको छ। उद्धार टोलीले अहिलेसम्म तीन विद्यार्थीलाई जीवितै भग्नावशेषबाट बाहिर निकालेर उपचारका लागि एम्स ट्रमा सेन्टर पठाएको छ। केही विद्यार्थी घाइते भएको पनि बताइएको छ।

उद्धार टोलीले भग्नावशेष हटाउँदै भित्र फसेकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। भवनमा वास्तविक रूपमा कति जना थिए भन्ने यकिन विवरण भने अभिलेख जाँचपछि मात्र स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

घटनापछि आसपासको अर्को भवनसमेत जोखिममा पर्न सक्ने भन्दै प्रशासनले सावधानीस्वरूप उक्त भवन खाली गराएको छ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्। उनले सम्बन्धित सबै निकायलाई समन्वय गरी उद्धारमा जुट्न निर्देशन दिइएको र प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने प्रयास भइरहेको बताएकी छन्|

यसैबीच, पूर्वमुख्यमन्त्री आतिशीले घटनाको उच्चस्तरीय छानबिन गर्न माग गरेकी छन्। लगातारको वर्षाका कारण भवन कमजोर भएर भत्किएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे भने तत्काल आधिकारिक पुष्टि भएको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP