त्रिशूली–३ ‘ए’ सुरुङ सफाइ तीव्र, २० हजार घनमिटर लेदो हटाइयो

त्रिशूली–३ ‘ए’ सुरुङ सफाइ तीव्र, २० हजार घनमिटर लेदो हटाइयो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र रूपमा अघि बढाइएको छ।

खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार आयोजनाको १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर विस्फोटमार्फत हटाइसकिएको छ।

उनका अनुसार १३ भदौदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरी पाँच दिनको अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको छ।

सफाइ कार्यलाई तीव्र बनाउन आवश्यकताअनुसार ब्रेकर मेसिन तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरिएको छ। सुरुङ क्षेत्रमा २४सै घण्टा सफाइ र अवरोध हटाउने काम जारी रहेको इन्जिनियर न्यौपानेले जानकारी दिए।

उनका अनुसार हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा भइसकेको छ। अब ५.५ मिटर अग्लो सुरुङमा बाँकी रहेको करिब तीन मिटर गहिराइको पहुँचमार्ग (एक्सेस) तथा पानी निकास (ड्रेनेज) निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र थुप्रिएको लेदो हटाउने मुख्य काम सुरु गरिनेछ।

भोटेकोशी बाढीले त्रिशूली–३ ‘ए’ आयोजनासहित आसपासका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। आयोजनाको सुरुङ क्षेत्रमा थुप्रिएको विशाल परिमाणको लेदो र भग्नावशेष हटाउन चुनौतीपूर्ण अवस्था रहे पनि उद्धार तथा प्राविधिक टोलीले निरन्तर काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP