काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटका प्रभावित क्षेत्रका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीबाट प्रभावित विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन तत्काल सम्भव नभएको जनाएका छन्।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक प्रभावित हुनुका साथै विद्यालय भवन, सडक र पुलमा ठूलो क्षति पुगेको छ। नदी वारपार तथा आवतजावत सहज भएपछि मात्रै विद्यालय सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने सूचना प्राप्त भए पनि यसको प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। केही विद्यालयले भने समयमै उच्च सतर्कता अपनाएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनले बताए। अवस्था सामान्य भएपछि विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउने योजना बनाइने उनको भनाइ छ।
त्रिशूली बाढीबाट विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था छैन।
त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा ब्लकमात्र बाँकी रहेको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा समेत क्षति पुगेको छ।
बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ।
उता, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा ठूलो क्षति नभए पनि बाढीबाट विस्थापित नागरिकलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा पनि एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ।
बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं. ५ को महादेव माध्यमिक विद्यालय समेत प्रभावित बनेको छ।
बाढीका कारण विद्यालय संरचना मात्रै नभई विद्यार्थी, शिक्षक र अभिभावकको सुरक्षा तथा आवतजावतसमेत चुनौतीपूर्ण बनेपछि नुवाकोटमा शैक्षिक गतिविधि कहिलेदेखि नियमित हुन्छ भन्ने अझै निश्चित हुन सकेको छैन।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!