बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिवद्वारा पत्रकारलाई धम्की दिएको आरोप, पत्रकार महासंघ युरोपले छानबिन र कारबाहीको माग!

बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिवद्वारा पत्रकारलाई धम्की दिएको आरोप, पत्रकार महासंघ युरोपले छानबिन र कारबाहीको माग!

जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लागेपछि नेपाल पत्रकार महासंघ युरोप शाखाले घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ।

महासंघका अध्यक्ष केजिन राईद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल समाचारपत्रका युरोप प्रतिनिधि तथा महासंघका पूर्वउपाध्यक्ष गजुरेलले समाचारसम्बन्धी प्रतिक्रिया लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। विज्ञप्तिमा यादवले “थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु” भन्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

महासंघले उक्त व्यवहारलाई स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारमाथिको मानसिक दबाब सिर्जना गर्ने कार्य भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। साथै, जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु गम्भीर र निन्दनीय भएको जनाएको छ।

महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, विदेशमा कार्यरत पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

उल्लेखनीय छ, पत्रकार गजुरेलले गत साता बर्लिनस्थित नेपाली दूतावासले कर्मचारी भर्नासम्बन्धी सूचना अनधिकृत रूपमा तोडमोड गरेको विषयमा प्रमाणसहित समाचार प्रकाशन गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP