रातिको चेकजाँचमा पेस्तोल बरामद, सिरहामा तीन युवा पक्राउ

रातिको चेकजाँचमा पेस्तोल बरामद, सिरहामा तीन युवा पक्राउ

सिरहा।सिरहामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवालाई पक्राउ गरेको छ। लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट पक्राउ परेका उनीहरूमाथि हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। 

पक्राउ पर्नेमा लहान–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी–६ का २० वर्षीय साबरजित दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति करिब १०:३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले शंकाका आधारमा रोकी चेकजाँच गरेको थियो। 

प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा रहेको टोलीले शरीर तथा सामान जाँच गर्ने क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन फेला पारेको जनाएको छ। बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तीनै जनालाई प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान लगिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षपछि कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP