टोल–टोलमा सुरक्षा सञ्जाल बनाऔँ, बालबालिका जोगाऔँ

टोल–टोलमा सुरक्षा सञ्जाल बनाऔँ, बालबालिका जोगाऔँ

देशमा बालबालिका अपहरण, बलात्कार र हत्याका घटना बढ्न थालेपछि यतिबेला आम नागरिक चिन्तित बनेका छन्। कुनै घटना घट्छ, त्यसपछि आन्दोलन हुन्छ, सरकारसँग वार्ता हुन्छ र केही सहमति पनि हुन्छन्। केही समयका लागि अवस्था मत्थर भएजस्तो देखिए पनि पीडित परिवारले भोगेको पीडा भने जीवनभर मेटिँदैन। आफ्नो सन्तान गुमाएका वा अमानवीय पीडा सहन बाध्य भएका परिवारका लागि त्यो घाउ कहिल्यै निको हुँदैन।

आज सबैभन्दा गम्भीर प्रश्न यही हो कि यस्ता घटनाहरू किन भइरहेका छन् ? के कारणले समाजमा यस्ता जघन्य अपराध बढिरहेका छन् ? यो अत्यन्तै डर लाग्दो अवस्था हो। यस विषयमा गहन अध्ययन हुनु आवश्यक छ। अपराध घटिसकेपछि प्रतिक्रिया दिनेभन्दा पनि अपराध हुन नदिने उपाय खोज्नु अहिलेको आवश्यकता हो।

आम नागरिकको सुरक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो। नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी हो। तर सरकारको मात्र प्रयासले सबै कुरा सम्भव हुँदैन। सरकारलाई सहयोग गर्नु नागरिकको पनि कर्तव्य हो। समाज सुरक्षित बनाउन राज्य र नागरिक दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।

यतिबेला देश ठूलो चिन्ताको अवस्थाबाट गुज्रिरहेको छ। अभिभावक आफ्ना बालबालिकाको सुरक्षालाई लिएर त्रसित छन्। त्यसैले अब सरकार र नागरिक मिलेर शान्ति–सुरक्षा कायम गर्न दृढतापूर्वक लाग्नुपर्ने बेला आएको छ। केवल भाषण, प्रतिबद्धता र सहमतिले मात्र समस्या समाधान हुँदैन। व्यवहारिक रूपमा सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्छ।

प्रत्येक गाउँ, सहर र टोल–टोलमा शान्ति–सुरक्षा समूह गठन गरेर अगाडि बढ्नु आवश्यक देखिन्छ। समुदाय स्वयं सचेत र सक्रिय बन्न सके धेरै अपराध रोक्न सकिन्छ। छिमेकीले छिमेकीलाई चिन्ने, समुदायले समुदायको सुरक्षा गर्ने र शंकास्पद गतिविधिमाथि निगरानी राख्ने संस्कृतिको विकास गर्न जरुरी छ।

सरकारले यस विषयमा विशेष पहल गर्नुपर्छ। साथै नागरिक पनि आफ्नो परिवार, गाउँ, टोल र समुदायको सुरक्षाप्रति जिम्मेवार बन्नुपर्छ। सुरक्षित समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने समय आएको छ। बालबालिकाको सुरक्षा कुनै एक परिवारको मात्र विषय होइन, यो सिंगो समाज र राष्ट्रको सरोकारको विषय हो।

अब ढिला गर्ने समय छैन। टोल–टोलमा सुरक्षा सञ्जाल बनाऔँ, बालबालिका जोगाऔँ र सुरक्षित समाज निर्माणका लागि सबै मिलेर जिम्मेवारी निभाऔँ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP