ग्यास अभाव : लाइनमा नागरिक, सरकारको दाबीमाथि प्रश्न

ग्यास अभाव : लाइनमा नागरिक, सरकारको दाबीमाथि प्रश्न

काठमाडौं । सरकारले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि उपभोक्ताले भने त्यसको अनुभूति गर्न सकेका छैनन्। ग्यासको सिलिन्डर पाउने आशामा सर्वसाधारण बिहानैदेखि डिपोअगाडि लामो लाइनमा बस्न बाध्य भएका छन्।

तीन सातादेखि ग्यास खोज्दै हिँडिरहेको बताउने उपभोक्ता सुमित्रा श्रेष्ठ भन्छिन्, “सरकारले अभाव छैन भन्छ, तर हामीले तीन हप्तादेखि ग्यास पाएका छैनौं। दिनहुँ लाइन बस्दा पनि खाली हात फर्किनुपरेको छ।”

ग्यास नपाउँदा धेरै परिवारको दैनिकी प्रभावित भएको छ। भक्तपुरका अर्का उपभोक्ता रमेश तामाङ भन्छन्, “घरमा खाना पकाउन नसकेर बच्चाहरूलाई कहिले होटलको खाना खुवाएर त कहिले चिया–बिस्कुट खुवाएर स्कुल पठाउनुपरेको छ। यस्तो अवस्था पहिले कहिल्यै देखेका थिएनौं।”

घरमा बिरामी रहेका परिवारलाई झन् समस्या भएको उपभोक्ताहरूको गुनासो छ। “घरमा वृद्ध बिरामी हुनुहुन्छ, समयमा खाना पकाउन नसक्दा उपचारमै असर परेको छ,” एक महिलाले लाइनमै बसेर दुखेसो पोखिन्।

नयाँ सरकार गठनपछि अत्यावश्यक वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको थियो। तर ग्यास वितरणमा देखिएको अव्यवस्थाले नागरिकमा निराशा बढाएको छ। “यति सामान्य वस्तु किन्न यत्रो सास्ती छ भने शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा के अपेक्षा गर्ने?” उपभोक्ता अर्जुन कार्कीले प्रश्न गरे।

सरकारले अभाव नरहेको बताइरहे पनि डिपोअगाडि बढ्दो भीड र उपभोक्ताको गुनासोले बजारको वास्तविक अवस्था फरक रहेको संकेत गरेको छ। ग्यास आपूर्तिलाई सहज बनाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग सर्वसाधारणको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुस्ताङ भूकम्पपछि क्षतिग्रस्त घरबाट सामान सुरक्षित स्थानमा सारियो
3 घण्टा अगाडि

काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...

छुटाउनुभयो कि ?

TOP