पोखरामा निस्सा बोकेर आए ५५ ‘सुकुम्वासी’, फिल्डमा भने भेटिएनन्

पोखरामा निस्सा बोकेर आए ५५ ‘सुकुम्वासी’, फिल्डमा भने भेटिएनन्

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचानका लागि गरेको अध्ययनमा निस्सा पेश गरेका ५५ जना फिल्डमै फेला परेकाछैनन। स्थलगत प्रमाणीकरणका क्रममा उनीहरू बसोबास गरेको भनिएको स्थानमा नभेटिएपछि सुकुम्वासी दाबीको विश्वसनीयतामाथि प्रश्न उठेको छ। 

महानगरले गठन गरेको अध्ययन समितिले वडा कार्यालयको सिफारिसमा परेका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरेको थियो। तर एउटा निवेदनमा आवश्यक विवरण अपूर्ण रहेकाले अन्तिम रूपमा ५७३ निवेदन मात्रै कायम गरिएको समितिका संयोजक कृष्ण तिवारीले जानकारी दिए। उनले ५५ जनाले निस्सा पेश गर्दै सुकुम्वासीका लागि निवेदन दिएको भए पनि स्थलगत अध्ययनका क्रममा उनीहरू फेला नपरेको बताए। 

समितिले जिल्ला प्रशासन कार्यालयको नागरिकता अभिलेख र मालपोत कार्यालयको भूमि अभिलेख प्रणालीमार्फत निवेदकहरूको विवरण रुजु गरेको जनाएको छ। अध्ययनका क्रममा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका २३३ परिवारको अन्यत्र पनि जग्गा रहेको तथ्य फेला परेको छ। 

महानगरले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण गर्दै वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने नीति लिएको छ। त्यसका लागि वैकल्पिक बसोबासको व्यवस्था खोज्न छुट्टै समिति गठन गरिएको छ भने सम्भावित स्थानहरूको खोजी कार्य पनि जारी रहेको महानगरले जनाएको छ। 

पृथ्वीचोक बसपार्क क्षेत्र खाली गराउने तयारी भइरहेका बेला अध्ययन प्रतिवेदनले सुकुम्वासीको नाममा निवेदन दिएका केही व्यक्तिको वास्तविक अवस्था फरक रहेको संकेत गरेको छ। अब महानगर कार्यपालिका बैठकमा प्रतिवेदनमाथि छलफल गरी आगामी व्यवस्थापन प्रक्रिया अघि बढाइने बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP