राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार र अनियमितताको विषय प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अर्बौँ रुपैयाँको अनियमितता भएको दाबी गर्दै तत्काल छानबिन अघि बढाउन माग गरेका छन्। मंगलबार बसेको समितिको बैठकमा रास्वपाका सांसद विक्रम थापा, खगेन्द्र सुनार र जनकराज जोशीले राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको अनियमितता भएको आरोप लगाउँदै सरकारले यसबारे पारदर्शी अनुसन्धान गर्नुपर्ने बताएका हुन्। सांसद जनकराज जोशीले यो विषय राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग समेत जोडिएको भन्दै गृह मन्त्रालयबाट सम्बन्धित सबै कागजात झिकाउन, महालेखा परीक्षकको कार्यालयबाट विशेष लेखापरीक्षण गराउन तथा स्वतन्त्र प्राविधिक समीक्षा गर्नुपर्ने प्रस्ताव राखे। सांसद खगेन्द्र सुनारले राहदानी अभावका कारण विदेश जाने नागरिकले सास्ती भोगिरहेको उल्लेख गर्दै कसको संलग्नता र राज्यलाई भएको क्षतिको विस्तृत अध्ययन गर्नुपर्नेमा जोड दिए। सांसद विक्रम थापाले पनि राहदानी छपाइमा भएको ढिलासुस्ती र आर्थिक चलखेलबारे समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने धारणा राखे। रास्वपा सांसदहरूले सार्वजनिक खर्चमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न सार्वजनिक लेखा समिति अझ सक्रिय भई राहदानी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
काठमाडौं।जीवनमा सबै बालबालिकाले समान अवसर पाउँदैनन्। कोही आमाबुबाको माया, शिक्षा र सुरक्षित भविष्यको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!