विश्वकप २०२६ पछि राष्ट्रिय टोलीबाट बिदा हुँदै फुटबलका सुपरस्टार रोनाल्डो

विश्वकप २०२६ पछि राष्ट्रिय टोलीबाट बिदा हुँदै फुटबलका सुपरस्टार रोनाल्डो

काठमाडौं। विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिने भएका छन्। यो जानकारी उनकी दिदी काटिया अभेइरोले सार्वजनिक रूपमा पुष्टि गरेकी छन्।

काटियाका अनुसार २०२६ विश्वकप नै रोनाल्डोको पोर्चुगल राष्ट्रिय टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। उनले विश्वकपपछि राष्ट्रिय टोलीको जर्सी फुकाल्ने निर्णय गरिसकेको बताइएको छ।

सन् २०२८ को युरोकपसम्म रोनाल्डोले खेल्न सक्ने चर्चाबारे प्रतिक्रिया दिँदै काटियाले अब राष्ट्रिय टोलीबाट उनको बिदाइको समय आइसकेको संकेत गरिन्। उनले २०२६ विश्वकपलाई रोनाल्डोको "अन्तिम यात्रा" र "अन्तिम नृत्य" को संज्ञा दिएकी छन्।

रोनाल्डोमाथि भइरहेको आलोचनाप्रति पनि उनले असन्तुष्टि जनाउँदै फुटबललाई माया गर्ने र बुझ्नेहरूले उनको योगदानको सम्मान गर्नुपर्ने बताइन्।

सन् २००३ मा पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा लामो करिअरमा राष्ट्रिय टोलीलाई युरो २०१६ र यूईएफए नेसन्स लिगको उपाधि दिलाएका छन्। उनी अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा परिचित छन्।

यदि उनले विश्वकपपछि राष्ट्रिय टोलीबाट बिदा लिए भने सन् २००६ देखि सुरु भएको उनको विश्वकप यात्रा २०२६ मा पुगेर समाप्त हुनेछ। यससँगै पोर्चुगल फुटबलको एउटा स्वर्णिम युगको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP