चितवन राष्ट्रिय निकुञ्जमा भोलि देखि जिप सफारी बन्द !

चितवन राष्ट्रिय निकुञ्जमा भोलि देखि जिप सफारी बन्द !

चितवन राष्ट्रिय निकुञ्जले आज (असार ३०) देखि निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी बन्द गरेको छ। वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजनन अवधि र पर्यटक सुरक्षालाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले यो निर्णय गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जिप सफारी असोजको पहिलो वा दोस्रो सातासम्म बन्द रहनेछ। वर्षा कम भएमा पहिलो सातामै सञ्चालनमा ल्याइनेछ भने ठूलो वर्षा भएमा केही समय थप लम्बिन सक्ने उनले बताए। निकुञ्जका अनुसार बर्खायाम वन्यजन्तुको प्रजननको मुख्य समय भएकाले मानव गतिविधिले उनीहरूको बासस्थान र प्रजननमा असर पर्न सक्ने भएकाले सफारी रोकिएको हो। साथै, वर्षाका कारण निकुञ्जभित्रका सडक बिग्रिने, बाढी आउने र यात्रु सुरक्षामा जोखिम बढ्ने भएकाले पनि सफारी बन्द गरिएको जनाइएको छ। निकुञ्ज प्रशासनले हरेक वर्ष बर्खायाममा व्यावसायिक जिप सफारी बन्द गर्दै आएको छ। हाल सौराहाबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट ९ वटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउँदै आएका छन्। यद्यपि, निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP