४० डिग्रीभन्दा माथि तापक्रम, युरोपभर ‘रेड अलर्ट’ !

४० डिग्रीभन्दा माथि तापक्रम, युरोपभर ‘रेड अलर्ट’ !

फ्रान्स, स्पेनलगायत पश्चिमी तथा मध्य युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी बढेपछि ‘रेड अलर्ट’ जारी गरिएको छ। आगामी दिनहरूमा तापक्रम थप बढेर ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएसँगै जनजीवन प्रभावित बनेको छ। फ्रान्सका आधाभन्दा बढी क्षेत्रमा कडा मौसम चेतावनी जारी गरिएको मौसम पूर्वानुमान एजेन्सी मेटिओ–फ्रान्सले जनाएको छ। सोमबार बोर्डो सहरमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो। अत्यधिक गर्मीका कारण सयौं विद्यालयहरू बन्द गरिएका छन्। दक्षिण फ्रान्सको कार्पेन्ट्रास सहरमा दुई र चार वर्षका दुई बालबालिका आफ्नै कारभित्र मृत फेला परेका छन्। उनीहरू ३९ डिग्री सेल्सियस तापक्रमका बीच झ्याल बन्द भएको कारभित्र थुनिएको बताइएको छ। घटनालाई चरम गर्मीसँग जोडेर अनुसन्धान भइरहेको छ। जर्मनी, इटाली, स्विट्जरल्यान्ड र लक्जमबर्गले पनि उच्च सतर्कता अपनाउँदै ‘रेड अलर्ट’ जारी गरेका छन्। मौसमविद्हरूका अनुसार साहारा मरुभूमिबाट उत्तरतर्फ सरेको तातो हावाले युरोपभर तापक्रम अस्वाभाविक रूपमा बढाएको हो। वैज्ञानिकहरूले बारम्बार आउने यस्ता तातो हावाका लहरलाई ग्लोबल वार्मिङको संकेतका रूपमा लिएका छन्। मेटिओ–फ्रान्सका अनुसार सन् १९४७ यता फ्रान्समा रेकर्ड भएका ५१ वटा हिटवेभमध्ये अधिकांश सन् २००० पछि देखिएका छन्। राजधानी पेरिसमा बुधबार तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। अत्यधिक गर्मीका कारण रेल सेवामा कटौती गरिएको छ भने फ्रान्सको राष्ट्रिय रेलवे कम्पनीले जोखिममा रहेका नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। शिक्षा मन्त्रालयका अनुसार फ्रान्सका ८४५ विद्यालय पूर्ण रूपमा बन्द गरिएका छन् भने करिब १ हजार ८ सय विद्यालयमा कक्षा समय छोट्याइएको छ। यद्यपि, १० लाखभन्दा बढी विद्यार्थीले उच्च माध्यमिक तहको अन्तिम परीक्षा दिइरहेका छन्। यसैबीच, सप्ताहान्तमा नदी तथा तालमा डुबेर १३ जनाको मृत्यु भएपछि फ्रान्स सरकारले असुरक्षित स्थानमा पौडी नखेल्न नागरिकलाई आग्रह गरेको छ। दक्षिण-पश्चिमी क्षेत्रमा अत्यधिक गर्मीकै कारण तीन वृद्धको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मौसमविद्हरूले यो हिटवेभ ‘व्यापक, लामो समयसम्म रहने र अत्यन्त तीव्र’ हुने चेतावनी दिएका छन्। हप्ताको अन्त्यसम्म तापक्रम नघट्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP