‘बिल्ड अप नेपाल’लाई २०२६ को जायेद दिगोपन पुरस्कार, जलवायु कार्य क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान

‘बिल्ड अप नेपाल’लाई २०२६ को जायेद दिगोपन पुरस्कार, जलवायु कार्य क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान

दुबई । नेपाली संस्था बिल्ड अप नेपालले सन् २०२६ को प्रतिष्ठित जायेद दिगोपन पुरस्कार प्राप्त गरेको छ। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायेद अल नाह्यानले अबुधाबीमा आयोजित अबुधाबी दिगोपन सप्ताहको विशेष समारोहमा संस्थालाई उक्त पुरस्कार प्रदान गरेका हुन्। बिल्ड अप नेपालले यो सम्मान जलवायु कार्य श्रेणी अन्तर्गत प्राप्त गरेको हो।

जायेद दिगोपन पुरस्कार संयुक्त अरब इमिरेट्सका सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरूमध्ये एक मानिन्छ। सन् २००८ मा स्थापना गरिएको यो पुरस्कारले स्वास्थ्य, खाद्य, ऊर्जा, पानी, जलवायु कार्य तथा दिगो विकासका क्षेत्रमा प्रभावकारी र नवप्रवर्तनशील योगदान पुर्‍याउने संस्था तथा परियोजनालाई सम्मान गर्दै आएको छ। यस पुरस्कारमार्फत संयुक्त अरब इमिरेट्सका संस्थापक पिता दिवंगत शेख जायेद बिन सुल्तान अल नाह्यानको दिगो विकास, मानवीय मूल्य र विश्वव्यापी सहकार्यप्रतिको दूरदृष्टिलाई सम्मान गरिन्छ।

बिल्ड अप नेपाललाई कम कार्बन उत्सर्जन हुने र भूकम्प प्रतिरोधी पर्यावरणमैत्री इँटा उत्पादनमार्फत दिगो निर्माण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि छनोट गरिएको हो। संस्थाले हालसम्म ३३ लाखभन्दा बढी पर्यावरणमैत्री इँटा उत्पादन गरिसकेको छ। ती इँटाको प्रयोगबाट १२ हजारभन्दा बढी सुरक्षित र मजबुत घर निर्माण गरिएको छ भने २ हजार हरित रोजगारी सिर्जना भएको छ। यस प्रक्रियाबाट करिब एक लाख १० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्न योगदान पुगेको छ।

पर्यावरणमैत्री इँटाको प्रयोगले निर्माण लागत घटाउनुका साथै भवनको सुरक्षा र दीर्घकालीन सहनशीलता वृद्धि भएको बताइएको छ। विशेष गरी जाजरकोट र पश्चिम रुकुम जस्ता भूकम्प उच्च जोखिमयुक्त क्षेत्रहरूमा यस प्रविधिको प्रभाव उल्लेखनीय देखिएको छ।

यस पुरस्कारले विश्वव्यापी दिगोपन प्रयासमा नेपालको बढ्दो योगदानलाई उजागर गरेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकासका चुनौती समाधानमा स्थानीय स्तरबाट विकसित नवप्रवर्तनहरूले अन्तर्राष्ट्रिय प्रभाव पार्न सक्छ भन्ने सन्देश पनि दिएको छ।

पुरस्कार समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री सहभागी भएका थिए। अबुधाबीस्थित नेपाली राजदूतावासले दिगो विकासका क्षेत्रमा नवप्रवर्तनमार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बिल्ड अप नेपालका समर्पण र प्रयासको उच्च प्रशंसा गरेको छ।

उक्त पुरस्कार बिल्ड अप नेपालका कार्यकारी निर्देशक ब्योर्न सोडरबर्गले ग्रहण गरेका हुन्। नेपाली संस्थाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानलाई नेपालको दिगो विकास, वातावरण संरक्षण र जलवायु कार्य क्षेत्रमा हासिल गरेको महत्वपूर्ण उपलब्धि रूपमा हेरिएको छ। पुरस्कारको राशी १ मिलियन डलर रहेको छ। गत बर्ष यो पुरस्कर जनमैत्री स्कुलले जितेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आईसीसी टी २० विश्वकप हेर्न मुम्बईमा नेपाली समर्थकको उत्साहजनक सहभागीता
एक महिना अगाडि

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्दै ...

छुटाउनुभयो कि ?

TOP