नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ– सञ्चारमन्त्री खरेल

ललितपुर,पुस ५- नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ ।
द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा शनिबार ललितपुरमा आयोजित ‘स्टार्टअप समिट–२०२५’ लाई सम्बोधन गर्नुहुँदै मन्त्री खरेलले सरकार गठन भएको तीन महिनाभित्रै सरकारले एआई नीति पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी गरिरहेका छौँ भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासंगै अगाडि बढ्नुपर्छ, नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसंग मिलेर कसरी काम गर्न चाहानुहुन्छ, प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गर्न, अवसरको सृजना गर्न हामी तत्पर छौँ, म पनि युवा मन्त्री हुँ, अवको तीन महिनामा तपाईंहरुको अपेक्षा अनुसार काम गर्छु ।”

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा सरकारले ध्यान दिएर काम गर्न चाहेको बताउँदै युवाहरुको आवश्यकता नीतिगत रुपमै समेट्ने व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो । “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा स्वीकार गरेको छ, नेपालमा जेनजीहरुको राजनीति चेतना धेरै विकास भैसकेको छ, तसर्थ हामी परिवर्तन गर्न सक्छौं”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न पाए उचित हुने भएपनि सबै राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा सम्भव हुन नसकेको बताउनुभयो । उहाँले  फागुन २१ को निर्वाचन सही नेतृत्व चयन गर्ने अत्यन्तै उपयुक्त अवसर हो भन्दै राम्रो नेता तयार गरेर पठाउन आग्रह गर्नुभयो।
“अब युवा नेतृत्व आउनुपर्छ, युवाले काम गर्ने हो, राजनीति परिवर्तनका लागि समय आउँदै छ, हामी आशावादी हुनैपर्छ।“ उहाँले भन्नुभयो ।

नेपालका लागि भारतीय पूर्वराजदूत एवम् इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीव सिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकुल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसायहरू पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP