नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कर्ण नियुक्त, शुक्रबार पदबहाली

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कर्ण नियुक्त, शुक्रबार पदबहाली

काठमाडौँ पुस ४-नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक रहेका कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई उक्त जिम्मेवारी प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। नियुक्तिसँगै कर्णले आजै आफ्नो कार्यभार सम्हालेका छन्। लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको प्राधिकरणमा नयाँ नेतृत्व आएपछि नियमित कामकारबाहीलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सहसचिव मुकेश डंगोललाई महानिर्देशकको समेत जिम्मेवारी दिएकी थिइन्। तर मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्राधिकरणभित्रकै उपमहानिर्देशकलाई नेतृत्व सुम्पिने निर्णय गरेका हुन्। यसलाई संस्थागत अनुभव र निरन्तरताको आधारमा गरिएको निर्णयका रूपमा मन्त्रालय स्रोतले जनाएको छ।

महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि क्यान नेतृत्वविहीन बनेको थियो। नेतृत्व अभावका कारण उड्डयन सुरक्षा, नियमन तथा प्रशासनिक निर्णय प्रक्रियामा प्रभाव परेको भन्दै सरोकारवालाले चासो व्यक्त गर्दै आएका थिए।

निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेसँगै कर्णले उड्डयन सुरक्षा, सेवा प्रवाह र नियामक भूमिकालाई प्रभावकारी बनाउनेतर्फ प्राथमिकता दिने बताएका छन्। प्राधिकरणमा देखिएका संरचनागत समस्या समाधान र नियमित प्रशासनिक कार्यलाई गति दिने उनको प्रमुख चुनौती रहने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु
एक महिना अगाडि

काठमाडौँ, माघ४-सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सच ...

छुटाउनुभयो कि ?

TOP