काठमाडौँ पुस २० — सन् २०२५ मा विश्वका विभिन्न ७७ मुलुकबाट २ हजार ७ सय ९० जना नेपाली नागरिक डिपोर्ट भई स्वदेश फर्किएका छन्।
अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनमा विदेश गएका नेपालीहरू सम्बन्धित मुलुकको अध्यागमन कानुन उल्लङ्घन गरेपछि डिपोर्ट भएका हुन्।
डिपोर्ट भई फर्किने नेपालीमध्ये सबैभन्दा बढी मलेसियाबाट ४९८ जना रहेका छन्। त्यसपछि संयुक्त राज्य अमेरिकाबाट ४६२, संयुक्त अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७ तथा जापानबाट १२८ जना नेपाली डिपोर्ट भई नेपाल फर्किएका अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार ओभरस्टे बसेको, भिसा नलिई गैरकानुनी रूपमा बसोबास गरेको, सम्बन्धित देशको अध्यागमन कानुन विपरीतका गतिविधिमा संलग्न भएको तथा अपराधमा संलग्न भई सजाय भुक्तान गरेपछि नेपाली नागरिकलाई डिपोर्ट गरिएको हो।
उनका अनुसार कतिपय नेपाली नागरिक भिसाको म्याद सकिएपछि पनि सम्बन्धित मुलुकमा बसिरहने, तोकिएको कामबाहेक अन्य गतिविधिमा संलग्न हुने तथा कानुनी प्रक्रिया पूरा नगरी बसोबास गर्ने कारण कारबाहीमा परेका छन्। केही नेपाली भने लागूऔषध कारोबार, चोरी, अभद्र व्यवहारलगायत आपराधिक गतिविधिमा संलग्न भएपछि कैद सजाय भुक्तान गरी स्वदेश फर्काइएका हुन्।
अध्यागमन विभागले वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणका लागि विदेश जाने नेपाली नागरिकलाई सम्बन्धित देशको कानुन, भिसाका सर्त र समयसीमाको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। नियम उल्लङ्घन गर्दा डिपोर्ट मात्र होइन, भविष्यमा अन्य मुलुकमा प्रवेश गर्नसमेत कठिनाइ हुने विभागको चेतावनी छ।
अध्यागमनका अनुसार पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय आप्रवासन नियम कडा हुँदै गएकाले सानो लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्ने अवस्था देखिएको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया