काठमाडौँ,मङ्सिर ११ — अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign nationals Management Information System) आगामी २०८२ पुस १७ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने घोषणा गरेको छ। प्रारम्भिक कार्ययोजना अनुसार २०८२ असोज १ गतेदेखि लागू गर्ने तयारी भए पनि मुलुकमा उत्पन्न पछिल्लो घटनाक्रमका कारण ढिलाइ भएको र अब पुस १७ देखि पहिलो चरण सुरु हुने विभागले जनाएको हो।
अध्यागमन ऐन २०४९ र नियमावली २०५१ अनुसार नेपालमा विदेशी नागरिकको प्रवेश, बसाइ, गतिविधि र प्रस्थानलाई व्यवस्थित अभिलेखीकरण गर्नु राज्यको दायित्व भएकाले आधुनिक प्रविधिमार्फत दिगो र सुरक्षित अध्यागमन व्यवस्थापन स्थापित गर्न प्रणाली विकास गरिएको विभागले जनाएको छ। प्रणाली लागू भएपछि विदेशी नागरिकको सुरक्षासम्बन्धी सूचना व्यवस्थापन, सम्भावित अपराध नियन्त्रण, पर्यटन प्रवर्धन तथा आपतकालीन खोज–उद्धारमा उच्च प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
विभागका अनुसार पहिलो चरणमा २०८२ पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा प्रणाली अनिवार्य रूपमा लागू हुनेछ। दोस्रो चरण २०८२ फागुन १७ गतेदेखि मुलुकभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी तथा मनी एक्सचेन्जहरूमा विस्तार गरिनेछ। त्यसपछि क्रमशः सबै होटल, गेस्ट हाउस तथा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सार्वजनिक–निजी संस्थामा अनिवार्य कार्यान्वयन गरिनेछ।
विदेशीलाई सेवा दिने सबै निकायलाई यस प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन विभागले आग्रह गरेको छ। दर्ता प्रक्रिया तथा प्रयोगसम्बन्धी म्यानुअल विभागको वेबसाइटमा उपलब्ध रहेको छ। अतिरिक्त जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इन्जिनियर सन्तोष कुमार शाह (मो. ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रणालीको कार्यान्वयन प्रभावकारी बनाउन ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई निर्देशन पठाइएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुनेछ भन्दै विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया