काठमाडौं, मंसिर २ — राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा कार्तिक ३० र मंसिर १ गते बसेको केन्द्रीय समिति बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
नेता सन्तोष मेहताका अनुसार बैठकले पार्टी स्थापना भएको ९ महिनामा हासिल भएको राजनीतिक प्रगति मूल्यांकन गर्दै नयाँ नेपाल निर्माणका लागि स्वदेशवादी विचारधारा र राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशाअनुसार रणनीति तय गरेको छ।
बैठकले पुराना राजनीतिक दलका औपनिवेशिक र उदारवादी विचारहरूले देशमा राज्य र नागरिक बीचको सम्बन्ध कमजोर बनाएको ठहर गर्दै, जेन–जी क्रान्तिले त्यसको पर्दाफास गरेको जनाएको छ। नयाँ वैकल्पिक शक्ति नहुँदा देश अहिले शक्ति–शून्यताको संक्रमणकालमा रहेको बताइएको छ।
बैठकले फागुन २१ गतेको निर्वाचनलाई अवसर बनाएर उत्पीडित समुदाय, युवा, महिला र सांस्कृतिक समूहहरूलाई एउटै राजनीतिक प्लेटफर्ममा जोडेर संवैधानिक पुनर्लेखन, राज्य पुनर्संरचना र राष्ट्रिय मुक्तिको सन्देश जनतासम्म पुर्याउने निर्णय गरेको छ।
पार्टीको लक्ष्य केवल सत्ता कब्जा नभई भ्रष्ट संरचना र औपनिवेशिक मानसिकता हटाएर संघीय संरचना, सुशासन र आर्थिक समृद्धिमा आधारित नयाँ मोडल स्थापना गर्नु रहेको छ।
बैठकले विचार मिल्ने दलहरूसँग चुनावी गठबन्धन र तालमेल गर्ने तयारी गरिरहेको जनाएको छ। साथै उम्मेदवार छनोट र सिफारिश प्रक्रिया पारदर्शी, समावेशी र सहभागीतामा आधारित बनाउने निर्णय गरेको छ। उम्मेदवारको मापदण्डमा स्वदेशवादी प्रतिबद्धता, सामाजिक समर्पण, जनप्रतिनिधित्व क्षमता र पार्टी सदस्यताको स्थिति समावेश गरिनेछ।
पार्टीले निर्वाचनमार्फत आफ्नो स्वदेशवादी विचार, भ्रष्टाचारविरुद्धको संघर्ष र सांस्कृतिक पुनरुत्थानको एजेन्डा अघि बढाउने र उत्पीडित समुदायको राजनीतिक प्रतिनिधित्व बलियो बनाउने लक्ष्य राखेको छ।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक तरंगले देशको समग्र राजनीति मात्र होइन, नेकपा एमालेको आन्तरि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!