काठमाडौं, कात्तिक १ — उज्यालोको पर्वका रूपमा मनाइने तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष आजदेखि आरम्भ भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइने छ। यसै दिनदेखि यमदीपदान पनि सुरु हुने समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
काग तिहार आइतबार पर्ने भएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सायंकालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी परे काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यही निर्णय गरिएको हो।
यमपञ्चकका अवसरमा यमदीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने विश्वास रहिआएको छ। यस वर्ष धनवन्तरी जयन्ती पनि आइतबार नै परेको छ। सोमबार भने कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन पर्ने भएको समितिले जनाएको छ।
कार्तिक २ गते आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ। सोमबार बिहान अपामार्गसहित स्नान गरेर नदीमा बत्ती बगाउनाले नरकको यातना टारिन्छ भन्ने धार्मिक विश्वास छ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा यसै दिन गरिनेछ। कात्तिक ४ गते मंगलबार औँसी दिउँसो ४ः२९ बजेसम्म रहने भएकाले सो दिन कुनै विशेष पर्व छैन।
गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार मनाइनेछ। यसै दिन हलितिहार, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ सुरु हुने समितिले जनाएको छ।
भाइटीका भने कात्तिक ६ गते बिहीबार पर्नेछ। यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिएका छन्। भाइटीकाको बेला दाजुभाइ पश्चिम फर्की र दिदीबहिनी पूर्व फर्की टीका लगाउने शास्त्रीय परम्परा छ।
तिहारका अवसरमा देशभर झिलीमिली बत्ती र उत्सवमय वातावरणले राजधानीलगायतका सहरहरू उज्यालो बनेका छन्। कोजाग्रत पूर्णिमादेखि नै दीपावली सुरु गर्ने परम्परा बढ्दै गएको छ। प्रहरी प्रशासनले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया