सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा राजनीतिक दलहरूसँग अन्तरक्रिया सम्पन्न — समन्वयमा जोड

काठमाडौं, साउन १७—सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा साउन १६ गते आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँग सहकार्य र समन्वयमा विशेष जोड दिएका छन्।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठले नेपाल उच्च जोखिमयुक्त मुलुक भएको उल्लेख गर्दै विद्यालयस्तरमा सशस्त्र प्रहरीले सञ्चालन गरेको सचेतनामूलक तालिम प्रभावकारी भएको बताए। पूर्वतयारी र जनचेतनाले मात्र क्षति न्यून गर्न सकिनेमा उनले जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद उद्धव थापाले विपद्का बेला सशस्त्र प्रहरीले देखाएको साहस प्रशंसनीय भएको बताउँदै राजनीतिक दल र सुरक्षा निकायबीचको संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायसँगको समन्वय र सहभागिता विपद् जोखिम न्यूनीकरणमा निर्णायक हुने बताए। उनले सरकारबाट प्राप्त सहयोगको कारण सशस्त्र प्रहरी बलको कार्य थप प्रभावकारी भएको उल्लेख गरे।

कार्य विभाग प्रमुख एआईजी नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको जनाउँदै राजनीतिक दलहरूसँगको सहकार्य पनि उत्तिकै आवश्यक रहेको धारणा राखे।

नेपाली कांग्रेसका प्रतिनिधि कल्याण गुरुङले स्वयंसेवक तालिम, स्थानीय तहमा प्राथमिक विपद् सामग्रीको जोहो, र वडास्तरमा जनशक्ति विकास गर्नुपर्ने बताए।

नेकपा (एमाले) का खिमलाल भट्टराईले पूर्व सूचना व्यवस्थापन, स्थानीय स्वयंसेवक उत्पादन र सूचना प्रसारणमा राजनीतिक दलले भूमिका खेल्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र) का नारायण काफ्लेले सशस्त्र प्रहरी बललाई थप उपकरण उपलब्ध गराई मनोबलसाथ परिचालन गर्नुपर्ने र स्थानीय संरचना बलियो बनाउने खाँचो औंल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुकुमार श्रेष्ठले विपद्का बेला सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न पार्टी तयार रहेको बताए।

जनमत पार्टीका प्रवक्ता डा. सरदसिंह यादवले प्रविधिको प्रयोग गरी पूर्व सूचना प्रवाह गर्नुपर्ने र विपद् व्यवस्थापनमा प्रदेश तथा स्थानीय सरकारको समन्वय आवश्यक भएको बताए।

जसपा नेपालका माधवप्रसाद देवले अव्यवस्थित विकास कार्यले विपद् निम्त्याउने खतरा बढाएकाले नीतिगत सुधार जरुरी रहेको बताए।

लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले भौगोलिक विषमता अनुसार विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने र दमकलजस्ता साधन ग्रामीण तहमा लैजानुपर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सशस्त्र प्रहरीको साधन, जनशक्ति, तालिम तथा विगतमा गरिएको उद्धार कार्यबारे प्रस्तुति दिएका थिए।

अन्तमा, सहभागी प्रतिनिधिहरूले सशस्त्र प्रहरी बलद्वारा प्रयोगमा ल्याइएका उद्धार उपकरणको अवलोकन समेत गरेका थिए। कार्यक्रम सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेशबहादुर ठाडामगरसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP