प्रदेश अस्पताल सुर्खेतमा २५ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ९ — प्रदेश अस्पताल, सुर्खेतमा ३४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको ठहर गर्दै तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

विशेष अदालतमा दायर आरोपपत्र अनुसार, अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत करारमा नियुक्त कम्प्युटर अपरेटर तृप्ती शाहीले स्वास्थ्य बीमा शाखामा नाम दर्ताको जिम्मेवारीमा रही, अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरेर बिलिङ गरेकी थिइन्। बिलिङबाट उठेको राजस्व रकममध्ये केवल आठ लाख ३६ हजार रुपैयाँ मात्र बैंक खातामा दाखिला गरिएको थियो। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो।

सो प्रकरणमा शाहीसँगै संलग्न मानिएका प्रदेश अस्पतालका लेखा अधिकृत शंकर प्रसाद सुवेदी तथा कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई समेत दोषी देखिएको छ। अभियोजनपत्रमा उल्लेख भएअनुसार, तिनै जनाले मिलेमतोमा सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा १७ बमोजिमको कसुर गरेका छन्।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को संपूर्ण बिलिङ विवरण परीक्षण गरिएको थियो। त्यस अनुसार, साउन १ गतेदेखि असार मसान्तसम्म संकलन भएको कुल रकम ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसा थियो। तर अस्पतालको खातामा जम्मा गरिएको रकम एकदमै न्यून भेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

यसरी सरकारी अस्पतालभित्रै खुलेआम अनियमितता गरिएको प्रकरणले कर्णाली प्रदेशकै स्वास्थ्य प्रणालीप्रति प्रश्न उठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणलाई गम्भीर आपराधिक चरित्रको भ्रष्टाचार मानेर विशेष अदालतमा कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP