पोखरामा मेयर धनराजको हेलचक्र्याइँ: बजेटमा अंक त्रुटि, कृषि कार्यक्रम नै गायब

पोखरा, असार ८ – पोखरा महानगरपालिकाको २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा गम्भीर लापरबाही, हतारो र प्रशासकीय चरम दुर्बलता देखिएको छ। मेयर धनराज आचार्यको नेतृत्वमा ल्याइएको बजेटमा न अंक ठिक छ, न प्राथमिकता स्पष्ट। कृषिजस्तो मूलभूत क्षेत्र नै बजेटबाट हराएको छ भने नीति कार्यक्रममै उल्लेख नभएका योजनाहरू बजेटभित्र घुसाइएको छन्।

नगरसभा दिउँसो २ बजेका लागि बोलाइए पनि कार्यपालिका र बजेट निर्धारण समितिको बैठक ढिला हुँदा निर्णयहरू हतारहतारमा लिइयो। प्रशासकीय संयोजनविनै प्रस्तुत गरिएको बजेटमा धेरैजसो कर्मचारीहरू आफैं अन्योलमा थिए।

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र बजेट वक्तव्यमै समावेश छैन। कृषक अनुदान, पूर्वाधार विकास, सहकारी र उत्पादनमुखी योजनाहरू गायब छन्। 'कृषिमा आत्मनिर्भर पोखरा' भन्ने नारालाई यही बजेटले उपहास बनाएको छ।

बजेट दस्तावेजमा तथ्यांक र अंकहरूमा स्पष्ट त्रुटिहरू छन्। नीति कार्यक्रममा नअटाएका योजना कसरी बजेटमा परे? कसको दबाबमा परे? स्पष्ट छैन। पारदर्शिता र विधिसम्मत प्रक्रियाको धज्जी उडाइएको छ।

यही बखत मेयर आचार्य विदेश भ्रमणमा निस्कन हतारिएका छन्। बजेट निर्माणमा आवश्यक परामर्श र तयारी नहुँदा, स्थानीय सरकारको गम्भीरता माथि प्रश्न उठेको छ।

पोखराका नागरिक, किसान, जनप्रतिनिधि र योजनाविद्हरू यसप्रति आक्रोशित छन्। सार्वजनिक बजेटजस्तो संवेदनशील विषयमा देखिएको बेवास्ता र त्रुटि कुनै हालतमा माफीयोग्य छैन। यस्तो लापरबाही जनताको विश्वासमाथिको धोका हो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP