जनकपुर विकास परिषदमा ५१ लाख हिनामिना, ९ जनाविरुद्ध मुद्दा

जनकपुर विकास परिषदमा ५१ लाख हिनामिना, ९ जनाविरुद्ध मुद्दा

काठमाडौं, असार ६ –बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अनुसन्धानअनुसार ठाकुरले परिषद्को नाममा स्कर्पियो गाडी खरिद गरेर श्रीमतीको नाममा नामसारी गराएको, फर्जी कागजात बनाएर सोही गाडीलाई परिषदबाट भाडामा लिएको देखाई लाखौं रकम भुक्तानी लिएको खुलेको छ।

यात्री निवास मर्मत तथा सौन्दर्यीकरण योजनामा पनि नियमविपरीत उपभोक्ता समिति बनाइ योजना कार्यान्वयन गरेको, समितिको खाताबाट रकम झिकेर गाडीको भुक्तानीमा प्रयोग गरिएको पाइएको छ।

गाडी खरिद, इन्धन, मर्मत तथा भाडा शीर्षकमा फर्जी कागजात बनाई परिषद्को रकम निजी खातामा हालिएको, दुई फरक योजनामा एउटै उपभोक्ता समिति बनाएर रकम निकासा गरिएको, ठेकेदारमार्फत कार्य गराई समितिको नाममा रकम भुक्तानी दिइएको जस्ता तथ्य फेला परेका छन्।

बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीबीराज शर्मा, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, चालक विक्की चौधरी, उपभोक्ता समिति अध्यक्ष विजय यादव, कोषाध्यक्ष बबिता साह, ठेकेदार जितेन्द्र यादव र श्रीमती इन्दुलेखा कुमारी ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र विगो असुलको माग गर्दै मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार श्रीमती इन्दुलेखा कुमारी ठाकुरकै नाममा मात्रै ४५ लाख २२ हजार रुपैयाँभन्दा बढी रकम गैरकानूनी रूपमा दाखिला भएको पुष्टि भएको छ। आयोगले सार्वजनिक सम्पत्तिको हिनामिनामा संलग्न सबैलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP