नरैनापुर सामाजिक सुरक्षा भत्ता भ्रष्टाचार प्रकरणमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, असार २ — बाँके जिल्लाको नरैनापुर गाउँ विकास समितिमा सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन गा.वि.स. सचिव, अध्यक्षसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नियमविपरीत उमेर नपुगेका, नागरिकता नभएका र भारतमा विवाह गरी गएका महिलालाई एकल महिला देखाई झुठा लाभग्राही परिचयपत्र जारी गरी रु. ६ लाख ५६ हजार ७ सय भ्रष्टाचार भएको पुष्टि भएको छ।

विशेष अदालतमा दायर आरोपपत्रअनुसार तत्कालीन सचिव सावित राम कुर्मीमाथि सबैभन्दा ठूलो रकम भ्रष्टाचार गरेको अभियोग लागेको छ। उनले नियमविपरीत लाभग्राही परिचयपत्र तयार गराई भत्ता वितरणमा अनियमितता गर्दै रु. ६,५६,७००।– हिनामिना गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

यस्तै, तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवमाथि रु. ६३,६००।– र अर्का सचिव अशोक कुमार श्रीवास्तवमाथि रु. ५८,२००।– भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका अनुसार सो भत्ता गैरकानुनी रूपमा बुझी लिएका मोति भुजुवा, सन्तराम बडहीसहित १४ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले ३० हजारदेखि ६३ हजारसम्म भत्ता लिएको पाइएको छ।

अनुसन्धानका क्रममा पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कुर्मीको मृत्यु भइसकेको विवरण आएको हुँदा बिगो असुली सम्बन्धी माग सावित राम कुर्मीमाथि मात्र गरिएको आयोगले जनाएको छ।

आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ९ र ३ अनुसार कैद, जरिवाना र बिगो असुल गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP