एकैदिन पाँच लाख भक्त कोटिहोममा, विजय कृष्णले दिए सबैलाई धन्यवाद

पोखरा — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार झन्डै पाँच लाख भक्तजनको ऐतिहासिक उपस्थिति रहेको छ । यस्तो ठूलो जनसमूहले सहभागीता देखाउनु यसअघिका कुनै पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रममा देखिएको थिएन ।

महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार देशभरबाट आएका भक्तजनले कोटिहोम स्थल खचाखच भरिएको र आयोजकलाई व्यवस्थापनमा चुनौती भए पनि कुशलतापूर्वक सम्हालिएको थियो । भक्तजनको भिडले पोखराको यातायात प्रणाली प्रभावित भएको थियो र ट्राफिक कार्यालय कास्कीका कर्मचारीहरूले यातायात व्यवस्था गर्न धेरै मेहनत गर्नुपरेको थियो ।

शनिबार निर्जला एकादशी भएको दिन २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे सम्म दीप प्रज्वलन गरिएको थियो । यति ठूलो संख्यामा दीप प्रज्वलन नेपालमा शायद कहिल्यै नदेखिएको आयोजकको दाबी छ । भक्तजनहरूले हातमा ज्योति लिएर महायज्ञमा भाग लिएका थिए, जसले वातावरणलाई आध्यात्मिक र मनमोहक बनाएको थियो ।

शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति पनि भक्तजनको आकर्षण थियो । साथै दैनिक रूपमा विभिन्न धार्मिक कार्यक्रम र राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति हुँदै आएको छ, जसले भक्तजनको उपस्थितिलाई अझ वृद्धि गरेको छ ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छिन् । उनी जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छिन् र जेठ ३१ सम्म कार्यक्रम सञ्चालन हुने संयोजक ढकालले जानकारी दिए ।

मानव सेवा फाउन्डेसनलाई विभिन्न स्थानबाट धेरै जग्गा दान भएका छन् । पोखरा महानगरपालिका वडा नं. ३३ का नीलकण्ठ पौडेलले ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरेका छन् भने वेलगाडी नगरपालिका वडा नं. २ का राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेका छन् । साथै अन्नपूर्ण गाउँपालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा फाउन्डेसनलाई प्राप्त भइसकेको छ ।

शनिबार कोटिहोममा ठूलो संख्यामा भक्तजनले दानसमेत गरेका छन् । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका बालबालिकाको अभिभावक बन्ने भक्तजनको संख्या बढ्दै गएको छ । भोजपुर, पोखरा, स्याङ्जा लगायतका विभिन्न ठाउँका व्यक्तिहरूले लाखौं रकम सहयोग गरेका छन् ।

राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा प्रथम भएका छन् । माछापुच्छ्रे सेवा समाज द्वितीय र बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय भएका छन् । प्रतियोगितामा २५६ समूहले भाग लिएका थिए र विभिन्न विधामा पुरस्कार वितरण गरिनेछ ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर आसपासको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ र जेठ ३१ गतेसम्म कार्यक्रम जारी रहनेछ ।

कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजले हृदयदेखि सबै सहभागी र सहयोगीलाई धन्यवाद दिँदै बाँकी समय सबै मिलेर अझ ठूलो उत्साह र श्रद्धापूर्वक कार्यक्रम सफल बनाउने आग्रह गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP