दीर्घ बहादुर सोडारीविरुद्ध एक करोड भन्दा बढी सम्पत्ति लुकाएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं,जेठ १९ -सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेशसभा सदस्य) दीर्घ बहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

सोडारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ।

सन् २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा सोडारीको वैध आय रु. ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र देखिएको छ। सो अवधिमा उनले जग्गा खरिद, घर निर्माण, आन्तरिक सजावट, छोरीको अध्ययन खर्च, पत्नीको व्यवसायमा लगानी, बीमा, निर्वाचन र विवाह खर्चजस्ता शीर्षकमा रु. १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको खुलेको छ।

स्रोत नखुलेको रकमबाट श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा सम्पत्ति राखिएको भन्दै उनीहरूलाई पनि प्रतिवादी बनाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) अनुसार सम्पत्ति जफतका लागि प्रयोजनको रूपमा मुद्दामा समावेश गरिएको हो।

आयोगले सोडारीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२), दफा १६ (२), दफा २४ र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को सम्बन्धित प्रावधानअनुसार कैद, जरिवाना र सम्पत्ति जफतको मागसहित आरोपपत्र पेश गरेको हो।

सोडारी सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्री, सामाजिक विकास मन्त्री र मुख्यमन्त्रीसमेत भइसकेका नेता हुन्। आयोगले उनीमाथि सार्वजनिक सेवा ओगटेको हैसियतको दुरुपयोग गरी अस्वाभाविक ढंगले जीवनयापन गरेको आरोपसमेत लगाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP