टोखा १९ जेठ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि राय, सल्लाह तथा सुझाव संकलन गर्न आइतबार आयोजना गरेको सार्वजनिक छलफल कार्यक्रम जनताको सक्रिय सहभागितासहित सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणले नीति तथा कार्यक्रमको प्रभावकारिता, कार्यान्वयन क्षमता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन्।
सहभागीहरूले नगरपालिकाबाट संचालन गरिएका विभिन्न तालिमहरूमा प्रत्यक्ष नतिजा नदेखिएको गुनासो गर्दै, ती तालिमको अनुगमन तथा प्रतिवेदन प्रणाली मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। "तालिम त धेरै भयो, तर त्यसको प्रतिफल के छ?" भन्ने जिज्ञासाले कार्यक्रम स्थलमा गुन्जायमान बनाएको थियो।
त्यसैगरी, बौडेश्वर झरनामाको धार्मिक तथा पर्यटकीय चाप बढ्दो रहेको भए पनि फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै तत्काल कदम चाल्न नगरपालिकालाई आग्रह गरियो। पुस्तकालयका लागि बजेट विनियोजन भए पनि कहाँ, कसरी र कहिले सेवा पाइने भन्नेबारे स्पष्ट जानकारी नहुँदा नागरिकले सेवा उपयोग गर्न नसकेको गुनासो पनि उठ्यो।
वडा नं. ११ मा १० वटा घर भू-धसिएको घटनालाई उदाहरण दिँदै सहभागीहरूले विपद् जोखिम सूचनाको समयमै सार्वजनिक प्रसार गर्न, जोखिम क्षेत्रहरूको वर्गीकरण गरी पूर्वतयारी योजनालाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिए।
कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आगामी वर्षका योजनाहरू प्रस्तुत गर्दै स्मार्ट सडक बत्ती, मेट्रिक ठेगाना प्रणाली, फायर हाईड्रेन्ट जडान, डिजिटल सूचना प्रवाह, विषादी नियन्त्रण तथा कृषि जमिन संरक्षणमा नगरपालिका गम्भीर रहेको स्पष्ट पारे।
उक्त छलफल कार्यक्रममा उपमेयर मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्षहरू, वडासदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नगरवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरपालिकाले यस्तो छलफललाई आगामी नीति निर्माणको आधार मान्दै जनताको आवाजलाई प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता व्यक्त गरेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया