सिधा कुरा मेयरसँग : टोखा नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

टोखा, जेठ १६ – टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का काम कारबाहीबारे जनतालाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। “सिधा कुरा जनतासँग” शीर्षकमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडाध्यक्ष, जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवी, महिला, युवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

नगरप्रमुख अधिकारीले टोखा अन्य नगरपालिकाको तुलनामा समग्र विकासमा अघि बढिरहेको बताए। उनले आउँदो योजनाहरू सार्वजनिक गर्दै प्रत्येक वडामा सार्वजनिक शौचालय, पार्क, सीसी क्यामेरा, पोलमा बत्ती जडान, बाँकी सडक निर्माण तथा खेलकुद क्षेत्रको स्तरोन्नतिमा जोड दिइने बताए। “टोखालाई आदर्श नगरपालिका बनाउने हाम्रो संकल्प छ,” अधिकारीले स्पष्ट पारे।

कार्यक्रममा एक पत्रकारले प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीलाई “कसरी लामो समयसम्म टिक्न सक्नुभयो?” भन्ने सोधिएको प्रश्न चर्चाको विषय बन्यो। बिसीले इमान्दारिता, विनम्रता र सहकार्य नै आफ्नो स्थायित्वको आधार भएको बताए। “मेरो स्वभाव नरम छ, काममा इमान्दार छु, सबैसँग समन्वय गर्दै अघि बढेको हुँ,” उनले उत्तर दिए।

उपप्रमुख मुरारी तामाङले दमकल सेवा नहुँदा नागरिक जोखिममा रहेको बताए। “मलाई गाडी चाहिँदैन, त्यो बजेटले दमकल किनौँ,” उनले जनभावना अभिव्यक्त गरे। साथै, क्यान्सर प्याप टेस्ट, सुत्केरी भत्ता, महिला स्वास्थ्य, सामाजिक सुरक्षा, र विष्णुमती करिडोरको विषय सर्वोच्च अदालतको विचाराधीन रहेको उनले जानकारी दिए। “६० वर्ष मुनिका विदेशिन्छन्, माथिका भोक बैंकमा पुग्छन् – यो यथार्थ बदल्नुपर्छ,” उपप्रमुखको भनाइ थियो।

पुनः प्रशासकीय प्रमुख बिसीले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने, बजारका तरकारी-फलफूल ल्याब परीक्षण सुरु गर्ने, फोहोरमैला व्यवस्थापनमा सुधार ल्याउने, अपाङ्गमैत्री पूर्वाधार निर्माण र प्रत्येक वडामा जेष्ठ नागरिक भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

सुनुवाइमा जनप्रतिनिधि र स्थानीयवासीले पनि आफ्ना सुझाव, गुनासो र प्रशंसा खुलाएर राखे। सहभागीहरूले पारदर्शिता, जवाफदेहिता र योजनाको प्रभावकारी कार्यान्वयनमा अझ ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रमभर मेयर अधिकारी आत्मविश्वासी देखिए। उनले सुझावहरूलाई आत्मसात गर्दै सबैको सहकार्यमा पारदर्शी, उत्तरदायी र समावेशी नगरपालिका बनाउने आश्वासन दिए। “हामी कार्यालयभित्र होइन, जनताबीच गएर जवाफ दिन चाहन्छौं,” उनको भनाइ थियो।

टोखा नगरपालिकाको यस्तो खुला सुनुवाइ कार्यक्रमले स्थानीय तहमा जवाफदेहिता बढाउने उदाहरणीय अभ्यासका रूपमा आफैंलाई स्थापित गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP