पशुपति क्षेत्रमा नक्कली आयुर्वेदिक सामानको बिक्रीमा कडाइ: विकास कोषको कडा कदम

पशुपति क्षेत्रमा नक्कली आयुर्वेदिक सामानको बिक्रीमा कडाइ: विकास कोषको कडा कदम

काठमाडौं, ८ बैशाख  –पशुपति क्षेत्र वरिपरि "सिलाजित", "केसर", "हिङको तेल", "लसुनको तेल", "यार्सागुम्बा", "पदम चाल" आदि भन्दै डुप्लिकेट सामग्री बिक्री गरेर सर्वसाधारण र भक्तजनलाई ठग्ने कार्यमा संलग्नहरूमाथि पशुपति क्षेत्र विकास कोषले कडा निगरानी सुरु गरेको छ।

"हामी जुम्लेली, हाम्रो पेसा नै यिनै वस्तु बिक्री गर्ने कार्य  हो" भन्दै बाटो छेकी भक्तजनलाई भ्रममा पार्ने र शंकास्पद सामान बिक्री गर्नेहरूलाई नियन्त्रणमा लिन विकास कोषले दैनिक रुपमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आफ्ना सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिरहेको प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए।

उनका अनुसार पछिल्ला दिनमा दैनिकजसो पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूले यस्ता ढोंगी व्यापारीहरूबाट हैरानी भोग्नुपरेको गुनासो गरेपछि कोषले कडाइ गर्ने निर्णय लिएको हो।
"धार्मिक स्थलमा ठगी गर्ने कार्य सह्य हुँदैन। हामीले हालसम्म ५० किलो हाराहारीमा शंकास्पद वस्तु नियन्त्रणमा लिइसकेका छौं", अधिकारीले बताए।

नियन्त्रणमा लिइएका ती सामग्रीहरू स्वास्थ्यमा हानिकारक हुने आशंका भएकाले परीक्षण गरी काठमाडौं महानगरपालिकालाई बुझाउने तयारी भइरहेको कोषले जनाएको छ।

विकास कोषले पशुपति क्षेत्रमा आउने भक्तजन तथा सर्वसाधारणलाई यस्ता नक्कली तथा नाम चलेका वस्तु भनेर बिक्री गरिने सामग्री नकिन्न अनुरोध गरेको छ। साथै, कोही व्यक्तिले यस्ता कार्य गरिरहेको देखिएमा तत्कालै विकास कोष वा सुरक्षाकर्मीलाई जानकारी गराउन पनि सबैमा आग्रह गरिएको छ।

पशुपति क्षेत्रलाई पवित्रता, सुरक्षा र शुद्धता कायम राख्न कोषले यस्तो कदम चालेको हो।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पर्साको भगुवाबाट ठूलो मात्रामा लागूऔषध ट्रमाडोल बरामद
9 महिना अगाडि

पर्सा, जेठ ६ – पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ भगुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प ...

छुटाउनुभयो कि ?

TOP