जानकी नवमीलाई राष्ट्रिय विदा दिनुहोस् : जनकपुरधामका सन्त समाजको माग

जनकपुरधाम, ७ वैशाख -जानकी नवमीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने मागसहित जनकपुरधामस्थित सन्त समाजले संघीय सरकारलाई औपचारिक आग्रह गरेको छ। जनकपुरधामको ऐतिहासिक तुलसी स्मारक परिसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सन्त समाजले जानकी नवमीलाई ‘राष्ट्रिय पर्व’को रूपमा घोषणा गरी सार्वजनिक विदा दिन आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गर्नुभयो। उहाँले जानकी माता नेपालकै छोरी भएको स्मरण गराउँदै भन्नुभयो, “हाम्रै भूमिमा जन्मिएकी, धर्म र नारी शक्तिको प्रतीक जानकी माताको सम्झनामा हामीले वर्षौंदेखि नवमी पर्व भव्य रूपमा मनाउँदै आएका छौं। तर, आजसम्म संघीय सरकारले यसलाई राष्ट्रिय मान्यता दिन सकेको छैन, जुन दुःखद कुरा हो।”

महन्थ दासका अनुसार यस वर्ष पनि वैशाख २३ गते जनकपुरधामका विभिन्न मन्दिरहरूमा विशेष श्रद्धा, भव्यता र आस्थासहित जानकी नवमी मनाइनेछ। कार्यक्रममा दीप प्रज्वलन, झाँकी प्रदर्शन, भजन–कीर्तन, प्रवचन र सांस्कृतिक प्रस्तुतीहरू आयोजना गरिनेछ। देशभरबाट भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

सन्त समाजले जानकी नवमीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र पठाउने तयारी समेत गरिरहेको जानकारी दिएको छ।

कार्यक्रममा सहभागी अन्य सन्त, समाजसेवी र श्रद्धालुहरूले पनि जानकी नवमीलाई ‘नेपालको गौरव’को पर्वको रूपमा स्वीकार गर्दै तत्काल सार्वजनिक विदा घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले भने, “दशैँ, तिहार र छठजस्तै जानकी नवमी पनि हाम्रो मौलिक चाड हो, जसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्न अब ढिला गर्नु हुँदैन।”

यस वर्षको जानकी नवमीमा विशेष आकर्षणका रूपमा रथयात्रा, महिलाद्वारा अखण्ड रामायण पाठ, र बालबालिकाद्वारा धार्मिक नाटक प्रदर्शन समेत समावेश गरिने आयोजकहरूले जनाएका छन्।

जनकपुरधाममा रहेका स्थानीयबासी र धार्मिक समुदायबीच जानकी नवमीप्रति गहिरो श्रद्धा र सम्मान रहँदै आएको छ। तर, राष्ट्रको नीति तहबाट उचित मान्यता नपाउनु खेदजनक विषय बनेको छ।

सन्त समाजले आगामी दिनमा देशव्यापी हस्ताक्षर संकलन अभियान, अन्तरक्रिया कार्यक्रम र जनचेतना अभिवृद्धि गराउने उद्देश्यसहित चरणबद्ध आन्दोलनको संकेतसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP