वर्तमान कार्यसमिति सफल: महासचिव मेघनाथ भुर्तेल

काठमाडौ ,२६ चैत्र -नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको दावी गरेको छ। संघका महासचिव मेघनाथ भुर्तेलले संघको २६ महिनाको कार्यकालभित्र ऐतिहासिक उपलब्धिहरू हासिल गरिएको र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन ठोस कदम चालिएको बताएका छन्।

आज संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भुर्तेलले संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नु वर्तमान नेतृत्वको विशेष उपलब्धि भएको बताए। उनका अनुसार, संघमा आबद्ध व्यवसायीहरूको संख्या झण्डै एक हजारको हाराहारीमा पुर्‍याइएको छ, जुन संस्थागत विस्तार र एकताको प्रतिक हो।

भुर्तेलले कार्यसमितिको कार्यशैली पारदर्शी र उत्तरदायी रहेको उल्लेख गर्दै व्यवसायी र कामदारका ३४ सयभन्दा बढी उजुरीहरू मेलमिलाप कक्षमार्फत समाधान गरिएको जानकारी दिए। “समस्या समाधानमै हाम्रो ध्यान केन्द्रित भयो,” उनले भने, “संघको मेलमिलाप कक्षले व्यवसायी र कामदारबीचको आपसी समझदारी अभिवृद्धिमा ठुलो भूमिका खेलेको छ।”

उनका अनुसार, संघले वैदेशिक रोजगार क्षेत्रमा थुप्रै नीतिगत सुधारका प्रयासहरू थालेको छ। सिण्डिकेट हटाउने, यूएई, कतार, साउदीजस्ता प्रमुख श्रम गन्तव्यहरूसँग प्रत्यक्ष सम्वाद स्थापना, तथा रोजगारदाताद्वारा लादिएको ४५ डलर शुल्क खारेज गराउन सफल हुनु यिनै प्रयासका उदाहरण हुन्।

महासचिव भुर्तेलले व्यवसायीहरूको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै रक्तदान कार्यक्रमदेखि लिएर वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीहरूलाई सहयोगसम्मको विस्तृत भूमिका स्मरण गराए। साथै, उनले विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरूको सम्मान तथा सीप सदुपयोगमा संघले खेलेको भूमिकालाई ऐतिहासिक भने।

संघले आगामी कार्यकालका लागि सेवा शुल्क व्यवस्थापन, कामदारको लागत निर्धारण, श्रम सम्झौता सहज बनाउने, तथा व्यवसायीमार्फत आन्तरिक रोजगारी सिर्जना गर्न पाउने इजाजतको पहल गर्ने योजना अघि सारेको छ।

अन्तमा, महासचिव भुर्तेलले सफल कार्यकालमा साथ दिने सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै भने, “हामीले केही सपना पुरा गर्यौं, केही अधुरा छन् – अब नयाँ नेतृत्वले ती सपना पुरा गर्नेछ।”
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP