बीपीलाई सम्झिने होइन, बुझ्ने बेला आएको छ : गगन थापा

बीपीलाई सम्झिने होइन, बुझ्ने बेला आएको छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाको नाम केवल स्मरण गर्ने होइन, उनको विचार, सिद्धान्त र राजनीतिक दर्शनलाई सही ढंगले बुझ्नुपर्ने बताएका छन्। पछिल्लो समय बीपीको नामलाई राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार काठमाडौंमा धर्म गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेताहरूले आफ्ना राजनीतिक निर्णयको जिम्मेवारी लिन नसकेपछि बीपी कोइरालाको नामको सहारा लिने गरेको टिप्पणी गरे। उनले विशेषगरी राष्ट्रिय मेलमिलापको अवधारणालाई सन्दर्भअनुसार प्रयोग गरेर बीपीको विचारको अपव्याख्या भइरहेको बताए।

थापाले पछिल्लो समय विभिन्न राजनीतिक बहस र छलफलमा बीपीलाई व्यापक रूपमा उद्धृत गरिए पनि उनको वास्तविक विचार र दर्शनबारे पर्याप्त अध्ययन नभएको उल्लेख गरे। उनले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न बीपीको नामलाई ढाल बनाउने प्रवृत्ति गलत भएको बताए।

थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता ऐतिहासिक नेताहरूलाई कुनै परिवार, गुट वा सीमित समूहभित्र कैद गर्न नहुने पनि बताए। उनीहरू सम्पूर्ण नेपाली जनताका साझा नेता भएको उल्लेख गर्दै उनले उनीहरूको विचारमाथि कसैको एकाधिकार हुन नसक्ने धारणा राखे।

बीपीको विचारको अपव्याख्या भइरहेको उल्लेख गर्दै थापाले पुराना पुस्ताका कांग्रेस नेता तथा अभियन्ताहरूले नयाँ पुस्तालाई बीपीको वास्तविक योगदान, संघर्ष र राजनीतिक दर्शनबारे सही जानकारी दिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार लोकतन्त्र, सामाजिक न्याय, आर्थिक विकास र जनताको अधिकारप्रतिको बीपीको प्रतिबद्धता आज पनि उत्तिकै सान्दर्भिक छ।

थापाले बीपीलाई केवल स्मरण गर्ने परम्पराबाट माथि उठेर उनका विचारलाई व्यवहारमा उतार्न सके मात्रै उनको योगदानको सही सम्मान हुने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP