दुलालेश्वर महादेव मन्दिरबाट बेपत्ता दम्पतीमध्ये वृद्धाको शव सुनकोशी किनारमा फेला

दुलालेश्वर महादेव मन्दिरबाट बेपत्ता दम्पतीमध्ये वृद्धाको शव सुनकोशी किनारमा फेला
काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धा तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका-७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव नदी किनारमा फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार ओखलढुंगामा भेटिएको शवको फोटो काभ्रेका आफन्तलाई पठाइएको थियो। आफन्तले फोटो हेरेर शव तिलकुमारीकै भएको पहिचान गरेका छन्। थप आधिकारिक पुष्टि गर्न उनका आफन्त ओखलढुंगा पुगेका छन्।

यसैबीच, तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटबाट नदीमा हाम फालेका भनिएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुली अझै बेपत्ता छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए। घटनापछि काभ्रे र ओखलढुंगा प्रहरीले सुनकोशी नदी आसपास खोजी गरिरहेका छन्।

ओखलढुंगाका डीएसपी राज महर्जनका अनुसार स्थानीयले नदी किनारमा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। काभ्रे प्रहरीले फोटोका आधारमा बेपत्ता वृद्धाको सनाखत गरे पनि आफन्त ओखलढुंगा पुगेपछि मात्र आधिकारिक पुष्टि हुने उनले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP