महिला सशक्तीकरणकी अग्रदूत दिलमाया तामाङ राष्ट्रिय व्यक्तित्व सम्मान–२०८३ बाट सम्मानित

महिला सशक्तीकरणकी अग्रदूत दिलमाया तामाङ राष्ट्रिय व्यक्तित्व सम्मान–२०८३ बाट सम्मानित

काठमाडौं । समाजसेवा, उद्यमशीलता तथा महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी दिलमाया तामाङ राष्ट्रिय व्यक्तित्व सम्मान–२०८३ बाट सम्मानित भएकी छन्।

एभर ग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्टको १४औँ वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३’ मा तामाङलाई विशेष सम्मान प्रदान गरिएको हो।

विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय तामाङ महिलाहरूको आत्मनिर्भरता, नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएकी छन्। विभिन्न सामाजिक अभियान, मानवीय सेवामूलक कार्य तथा उद्यमशीलतामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

‘कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, पत्रकारिता, व्यवसाय, पर्यटन, गीत–संगीत तथा सामाजिक क्षेत्रका ५० जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले दिलमाया तामाङलाई समाजका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गर्दै उनको योगदानले विशेषगरी महिला वर्गमा आत्मविश्वास र हौसला जगाएको बताएका थिए। सामाजिक उत्तरदायित्व र सेवाभावलाई केन्द्रमा राखेर उनले गरेका कार्यहरू अनुकरणीय रहेको धारणा समेत व्यक्त गरिएको थियो।

लोकप्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे) को सभापतित्व तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP