विराटनगर।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादपछि स्थिति थप तनावग्रस्त बनेको छ। कर्फ्यू जारी रहेकै अवस्थामा प्रदर्शनकारीले आगजनी, तोडफोड तथा टायर बालेर प्रदर्शन गरेपछि प्रशासनले नेपाली सेना परिचालन गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन भए पनि बढ्दो भीड नियन्त्रण गर्न कठिन भएपछि सेनालाई मैदानमा उतारिएको हो। बख्तरबन्द गाडीसहित नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ।
आइतबार राति भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २१ जना घाइते भएका छन्। घटनापछि देवानगञ्ज, हरिनगर, लौकही तथा सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन चर्किएको छ।
कर्फ्यू आदेश जारी भए पनि विभिन्न स्थानमा समूह बनाएर स्थानीयवासी सडकमा उत्रिरहेका छन्। सुरक्षा चुनौती बढ्दै गएपछि कोशी प्रदेशका अन्य जिल्लाबाट समेत अतिरिक्त प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोली सुनसरी झिकाइएको छ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले अवस्था थप जटिल हुन नदिन सुरक्षा व्यवस्था सुदृढ पारिएको र संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिए।
प्रशासनले नागरिकलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा निकायले संयुक्त रूपमा प्रयास गरिरहेका छन्।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!