हजारौंको भीडबीच गोली वर्षा : सिएटल फूड फेस्टिभलमा ३ को मृत्यु

हजारौंको भीडबीच गोली वर्षा : सिएटल फूड फेस्टिभलमा ३ को मृत्यु

सिएटल (अमेरिका) । अमेरिकाको वासिङ्टन राज्यस्थित सिएटल शहरमा आयोजित चर्चित ‘बाइट अफ सिएटल’ फूड फेस्टिभल गोलीकाण्डले रक्तरञ्जित बनेको छ। हजारौं मानिसको भीडबीच आइतबार साँझ भएको गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। घाइतेमध्ये एक २ वर्षीय बालकसमेत रहेको जनाइएको छ। 

स्थानीय समयअनुसार साँझ करिब ६ बजे सिएटल सेन्टर क्षेत्रमा चलिरहेको फेस्टिभलका क्रममा अचानक गोली चलेपछि उत्सवस्थलमा अफरातफरी मच्चिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार गोली चलेलगत्तै मानिसहरू ज्यान जोगाउन भागाभाग गर्न थालेका थिए भने कतिपयले नजिकैका भवनभित्र आश्रय लिएका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुई व्यक्तिबीच भएको विवाद गोली हानाहानमा परिणत भएको देखाएको छ। घटनास्थलबाट एक संदिग्धलाई पक्राउ गरिएको छ भने अर्को व्यक्तिको खोजी जारी रहेको छ। प्रहरीले घटनास्थलबाट दुईवटा हतियार बरामद गरेको जनाएको छ। 

गोलीकाण्डमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए। घाइते चारै जनाको अवस्था स्थिर रहेको बताइएको छ। 

सिएटलकी मेयर केटी विल्सनले घटनालाई “भयानक हिंसा” को संज्ञा दिँदै दोषीलाई कानुनी दायरामा ल्याइने बताएकी छन्। प्रहरीले हाल समुदायमा थप खतरा नरहेको जनाएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ। 

सन् १९८२ देखि सञ्चालन हुँदै आएको ‘बाइट अफ सिएटल’ अमेरिकाकै लोकप्रिय फूड फेस्टिभलमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौं दर्शक तथा पर्यटक सहभागी हुने गर्छन्। परिवारसहित मनोरञ्जन गर्न पुगेका हजारौं मानिसबीच भएको यस गोलीकाण्डले पुनः अमेरिकामा बढ्दो बन्दुक हिंसामाथि गम्भीर प्रश्न उठाएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP