सुनसरी हिंसापछि गृह मन्त्रालयको कडा कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन

सुनसरी हिंसापछि गृह मन्त्रालयको कडा कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूलाई फिर्ता बोलाउँदै व्यापक प्रशासनिक हेरफेर गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइने भएको छ। सशस्त्र प्रहरीतर्फ पनि एसपी श्यामकुमार कार्की र डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर नयाँ नेतृत्व खटाइएको छ।

आइतबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा २४ जना घाइते भएका छन्, जसमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

घटनापछि थप तनाव र सम्भावित अप्रिय अवस्था रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरी घटनापछि गृह मन्त्रालयले सुरक्षा तथा प्रशासनिक संयन्त्रमा गरेको व्यापक हेरफेरलाई घटनाप्रतिको गम्भीर चासो र जवाफदेहिताको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP