बर्डफ्लुको मुख्य कारण काग, उपत्यका र काभ्रेमा संक्रमण तीव्र

बर्डफ्लुको मुख्य कारण काग, उपत्यका र काभ्रेमा संक्रमण तीव्र

काठमाडौं । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण तीव्र बन्दै गएको छ । पशु सेवा विभागले संक्रमण फैलिनुमा काग मुख्य कारकका रूपमा देखिएको जनाएकोछ ।

विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा पछिल्ला दिनहरूमा संक्रमणको दर ह्वात्तै बढेको छ । असार १० गतेसम्म यी चार जिल्लाका ४० स्थानमा मात्रै बर्डफ्लु पुष्टि भएकोमा पछिल्ला तीन दिनमै थप १७ स्थानमा संक्रमण देखिएसँगै संक्रमित स्थानको संख्या ५७ पुगेकोछ ।

वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार संक्रमित क्षेत्रका कुखुरा फार्मबाट अन्य स्थानमा पुग्ने कागहरूले भाइरस सार्ने मुख्य माध्यमको काम गरिरहेका छन् । संक्रमित कुखुराको अवशेष तथा दाना खाने क्रममा कागहरूमा भाइरस सर्ने र त्यसपछि अन्य फार्म तथा बस्ती क्षेत्रमा पुग्दा संक्रमण फैलिने जोखिम बढेको उनले बताए ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला भक्तपुर बनेको छ । भक्तपुरका २५ स्थानमा बर्डफ्लु पुष्टि भएको छ भने चाँगुनारायण क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । यस्तै, सूर्यविनायक र मध्यपुर थिमीका साना तथा स्थानीय कुखुरा फार्महरूमा समेत संक्रमण फैलिएकोछ ।

काठमाडौंमा कीर्तिपुर, टोखा, कागेश्वरी मनोहरा र बूढानीलकण्ठ क्षेत्रका १५ स्थानमा संक्रमण पुष्टि भएको छ भने ललितपुरको गोदावरी, महालक्ष्मी र सुनाकोठीका १२ स्थानमा रोग फैलिएको विभागले जनाएकोछ ।

उपत्यका बाहिर काभ्रेपलाञ्चोकको पनौती र बनेपास्थित पाँच वटा व्यावसायिक कुखुरा फार्ममा पनि संक्रमण पुष्टि भएको छ । असार १० गतेसम्म काभ्रेमा जम्मा दुई स्थानमा मात्रै संक्रमण देखिएको थियो ।

साना तथा स्थानीय स्तरमा पालिएका कुखुरामा संक्रमण बढी देखिएकाले रोग नियन्त्रणमा चुनौती थपिएको विभागको भनाइ छ । संक्रमित क्षेत्रहरूमा निगरानी बढाउनुका साथै कुखुरा ओसारपसारमा कडाइ गरिएको र जैविक सुरक्षाका मापदण्ड पालना गर्न किसानलाई आग्रह गरिएकोछ ।

पशु सेवा विभागले कुखुरा पालन व्यवसायीलाई फार्म वरपर काग तथा अन्य जंगली चराको पहुँच रोक्न, मरेका कुखुरा सुरक्षित रूपमा व्यवस्थापन गर्न र कुनै पनि अस्वाभाविक मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP