अदालत र न्यायाधीशविरुद्ध घृणा फैलाए नागरिक सर्वोच्चता नै सङ्कटमा पर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ, पुस २१ — पछिल्लो समय सामाजिक सञ्जालमार्फत अदालत र न्यायाधीश लक्षित द्वेषपूर्ण, अराजक तथा तथ्यहीन सामग्री प्रसारण बढ्दै गएको भन्दै सर्वोच्च अदालतले गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले यस्ता गतिविधिले नागरिक सर्वोच्चतालाई नै सङ्कटमा पार्न सक्ने चेतावनी दिएका छन्।

आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानन्यायाधीश राउतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशको मानहानि गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति असन्तुष्टि जनाए। उनले विशेषगरी विचाराधीन मुद्दाका सन्दर्भमा तथ्यविहीन र भ्रामक सामग्री प्रकाशन–प्रसारण हुनु न्यायपालिकाको गरिमामाथि आघात भएको बताए।

‘लोकतन्त्र र बहुलवादमा स्वच्छ आलोचना स्वीकार्य हुन्छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘तर अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशको हुर्मत लिने छुट कसैलाई छैन।’ अदालतका कमजोरी तथ्यका आधारमा उठाइने आलोचनालाई आफूहरूले स्वीकार गर्ने पनि उनले स्पष्ट पारे।

न्यायालय र न्यायाधीश लक्षित नकारात्मक टिप्पणीबारे गम्भीर समीक्षा गरिएको जनाउँदै प्रधानन्यायाधीश राउतले अधिकांश आलोचना तथ्यहीन र भ्रामक पाइएको बताए। समाजमा भ्रम नफैलियोस् भन्ने उद्देश्यले मिडियामार्फत आफ्ना धारणा सार्वजनिक गरिएको उनको भनाइ थियो।
न्यायाधीश डराए नागरिकले आफ्नो हक उपभोग गर्न नसक्ने भन्दै उनले न्यायपालिका निर्भीक हुनुपर्नेमा जोड दिए। ‘न्यायाधीश निर्भीक भए नागरिक निश्चिन्त हुन्छन्,’ उनले भने।

अदालत विधि, प्रक्रिया, तथ्य र प्रमाणका आधारमै चल्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले गल्ती भए संविधानले नै सच्याउने व्यवस्था गरेको स्मरण गराए। जिल्ला अदालतको फैसला उच्च अदालत र त्यहाँबाट सर्वोच्च अदालतसम्म पुगेर पुनरावलोकन हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए।

अदालतप्रति नै घृणा फैलाउने प्रवृत्ति लोकतान्त्रिक प्रणालीका लागि घातक हुने चेतावनी दिँदै उनले बदनियत वा प्रतिशोध साँधेर गरिने आलोचना सह्य नहुने स्पष्ट पारे।
कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP