काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन

काठमाडौं पुष ८-काठमाडौं उपत्यका सहित देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार (पुस ८) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन भएको छ, जुन यस वर्षको सबैभन्दा कम तापक्रम हो।

महाशाखाका अनुसार काठमाडौंमा सोमबार (पुस ७) न्यूनतम तापक्रम ६.८, आइतबार ५.५ र शनिबार ५.५ डिग्री सेल्सियस रहेको थियो। गएको मंसिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएको थियो।

देशभरको अन्य स्थानमा पनि तापक्रम घटेको छ। जुम्लामा न्यूनतम तापक्रम –३ डिग्री, वीरेन्द्रनगर ५.७, ओखलढुंगा ७.२, दिपायल र घोराही ७.८, पोखरा ८.८, ताप्लेजुङ ९.५ र डडेलधुरा ९.७ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागमा बिहान हुस्सु/कुहिरोको प्रभावले जनजीवन, स्वास्थ्य र सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ।

काठमाडौंमा हालसम्मकै न्यूनतम तापक्रम सन् १९७८ जनवरी ११ मा मापन गरिएको माइनस ३.५ डिग्री सेल्सियस थियो। महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP